५ मंसिर २०८३, शनिबार

श्रीमानको कुटपिटबाट २० वर्षीया श्रीमती गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–दानबहादुर बुढा

मुगु । जुम्लामा श्रीमानको कुटपिट बाट २० वर्षीया एक महिला गम्भीर घाइते भएकी छन् । हिमा गाउँपालिका–७ मच्ची गाउँकी कर्मकन्या वड श्रीमानको कुटपिट बाट घाइते भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचाररत रहेकी छन् ।

गत मंसिर ३ गतेदेखि अस्पतालमा उपचार गराइरहेकी कर्मकन्याको मुख र कानमा गम्भीर चोट लागेको छ । पीडितका अनुसार उनका २२ वर्षीय श्रीमान उमेश त्रिरुवाले नशा सेवन गरी पटकपटक कुटपिट गर्दै आएका थिए ।

यसपटकको कुटपिटबाट उनको माथिल्लो ओठमा गम्भीर चोट लागेको र कानबाट समेत रगत बगेको पीडितले बताएकी छन् । यसअघि पनि पटकपटक कुटपिटमा परेको उनको भनाइ छ ।

पीडितको माइतीघर सिंजा गाउँपालिका–२ चुलेल गाउँ हो । उनका दाइ सुनजित वडका अनुसार बहिनीले लामो समयदेखि श्रीमान्को हिंसा सहँदै आएकी थिइन् । घरबार बिग्रिन नदिन परिवारले पटकपटक मिलापत्र गराएर श्रीमान्को घर पठाए पनि हिंसा नरोकिएको उनले बताए ।

पीडित परिवारले घटनामा श्रीमान त्रिरुवा र सासू धौली त्रिरुवाको समेत संलग्नता रहेको आरोप लगाएको छ । घटनालाई ज्यान मार्ने उद्योगसँग सम्बन्धित भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आरोपित उमेश त्रिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ ।

घरेलु हिंसाविरुद्ध न्यायको माग

घरपरिवार र समाजको डरले पटकपटक हिंसा सहन बाध्य भएकी कर्मकन्याको घटनाले जुम्लामा घरेलु हिंसाको गम्भीर अवस्थालाई पुनः उजागर गरेको छ ।

घरबार जोगाउने नाममा महिलामाथि हुने हिंसालाई सामान्य रूपमा लिन नहुने भन्दै पीडितको सुरक्षा, उपचार र न्याय सुनिश्चित गर्नुपर्ने आवाज उठेको छ ।

विवाहको अर्थ हिंसा सहनु होइन । कुनै पनि बहानामा महिलामाथि कुटपिट र दुर्व्यवहार स्वीकार्य हुन सक्दैन । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ ।