काठमाडौं । नेपाली स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रका नवीन उत्पादन, प्रविधि र व्यावसायिक अवधारणालाई एउटै मञ्चमा प्रस्तुत गर्दै सातौं संस्करणको स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको फेस्टमा सातै प्रदेशका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाले आफ्ना उत्पादन, सेवा र प्रविधि प्रदर्शनीमा राखेका थिए ।
आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआई कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा फेस्ट आयोजना भएको हो ।
फेस्टमा सफ्टवेयर, मोबाइल एप्लिकेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स, ड्रोन तथा एयरोस्पेसलगायतका क्षेत्रमा नेपाली युवा तथा उद्यमीले विकास गरेका नवीन उत्पादन र प्रविधि प्रदर्शनीमा राखिएका थिए ।
अवलोकनकर्ताले नयाँ प्रविधि, व्यावसायिक अवधारणा तथा स्थानीय समस्या समाधानका लागि विकास गरिएका नवीनतम उपायबारे प्रत्यक्ष जानकारी लिएका थिए ।
फेस्टको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुधन झा रहेका थिए । उनले स्टार्टअप सुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई सफल बनाउन निरन्तर मेहनत, स्पष्ट सोच र अनुशासन आवश्यक पर्ने बताए । अहिलेको युवा पुस्ता नयाँ काम गर्न र उद्यमशीलतामा अघि बढ्न बढी उत्साही रहेको उल्लेख गर्दै उनले युवामा रहेको ऊर्जा र सक्रियतालाई सही दिशामा उपयोग गर्न सके नयाँ सम्भावना सिर्जना हुने धारणा राखे ।
उद्घाटन समारोहमा आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले आइसिटी अवार्डको सुरुवात पनि आइसिटी फेस्टबाटै भएको स्मरण गर्दै ११ वर्षको अवधिमा यो अभियान विभिन्न विधामा अवार्ड प्रदान गर्ने बृहत् कार्यक्रमका रूपमा विकास भएको बताए । नेपाली प्रविधि, नवप्रवर्तन र स्टार्टअपलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित काम भइरहेको उनको भनाइ थियो । कार्यक्रममा सनवे कलेज काठमाडौंका निर्देशक खुशल रेग्मी र नास्टका उपकुलपति प्रा.डा. जनार्दन लामिछाने पनि सहभागी थिए ।
फेस्टको पहिलो दिन एफवान सफ्टका निर्देशक सुवास शर्माले ‘बिल्डिङ द नेक्स्ट जेनेरेसन अफ स्टार्टअप्स’ विषयमा मुख्य वक्ताका रूपमा प्रस्तुति दिएका थिए । उनले स्टार्टअपका नयाँ सम्भावना, नवप्रवर्तन, उद्यमशीलताको विकास तथा प्रविधिमा आधारित व्यवसाय निर्माणका अवसरबारे चर्चा गरेका थिए ।
यसै अवसरमा नेपालमै विकसित एआई कोड एडिटर ‘एस्ट्राकोड’ सार्वजनिक गरिएको थियो । एस्ट्राकोडको मुख्य विशेषता यसको एआई एजेन्ट हो, जसले डेभलपरले सामान्य भाषामा दिएको निर्देशनअनुसार सुरुदेखि अन्त्यसम्म काम गर्न सक्छ । यसले सफ्टवेयर विकास प्रक्रियामा एआईको प्रयोग र नेपाली प्रविधि क्षेत्रको नवीन प्रयासलाई प्रस्तुत गरेको थियो ।
स्टार्टअप कन्भर्सेसन्स २०२६ अन्तर्गत ‘फ्रम पोलिसी टु क्यापिटल’ विषयमा विशेष प्यानल छलफल समेत आयोजना गरिएको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुधन झाको अध्यक्षतामा भएको छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका मन्त्रीका प्रमुख सल्लाहकार सञ्जय पौडेल, ग्लोबल आइएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ट्यान्जेन्ट वेभ्सका संस्थापक सुमन शाक्य तथा चेम्बर अफ कमर्सको स्टार्टअप समितिका अध्यक्ष पंकज जालान वक्ताका रूपमा सहभागी थिए । छलफलको सहजीकरण मिडिया पर्सनालिटी मोदनाथ ढकालले गरेका थिए ।
छलफलमा स्टार्टअपको विकासका लागि आवश्यक नीतिगत व्यवस्था, लगानीको वातावरण, प्रोत्साहनका कार्यक्रम तथा बैंक तथा वित्तीय संस्थाबाट पुँजीमा पहुँच सहज बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो । स्टार्टअपको सुरुवाती चरणदेखि व्यवसाय विस्तारसम्म उद्यमीले सामना गरिरहेका चुनौती र त्यसका लागि आवश्यक सहयोगबारे पनि चर्चा भएको थियो ।
फेस्टको पहिलो दिन एआई, साइबर सुरक्षा तथा फ्रन्टियर टेक्नोलोजीसम्बन्धी सिकाइ सत्र पनि सञ्चालन गरिएको थियो ।
‘एआई, साइबर सेक्युरिटी एन्ड फ्रन्टियर टेक फर स्टार्टअप्स’ विषयक सत्रमा रोस्टर लजिकका निर्देशक प्रवीणराज जोशीले प्रस्तुति दिएका थिए । उनले स्टार्टअपमा एआई तथा नयाँ प्रविधिको उपयोग, डिजिटल सुरक्षाको महत्त्व र प्रविधिमार्फत व्यवसायमा सिर्जना गर्न सकिने सम्भावनाबारे जानकारी दिएका थिए ।
त्यस्तै, ‘नन-डेभ टिप्स फर बिल्डिङ सफ्टवेयर विथ एआई’ शीर्षकको अर्को सत्रमा इन्नोभेसन लिपफ्रग टेक्नोलोजी इंकका निर्देशक अङ्कुर शर्माले प्रस्तुति दिएका थिए । सत्रमा प्राविधिक पृष्ठभूमि नभएका व्यक्तिले पनि एआई टुलको सहयोगमा सफ्टवेयर निर्माण गर्न सक्ने सम्भावना, नयाँ आइडियालाई डिजिटल उत्पादनमा रूपान्तरण गर्ने तरिका तथा सफ्टवेयर विकास प्रक्रियामा एआईको उपयोगबारे चर्चा गरिएको थियो ।
फेस्टको दोस्रो दिन अन्तरिक्ष प्रविधि र एआईको सम्भावनाबारे विशेष सिकाइ सत्र आयोजना गरिएको थियो ।
स्पेस रिसर्च सेन्टर, नास्टका एस्ट्रोफिजिसिस्ट डा. रमेश कोइरालाले प्रस्तुति दिँदै अन्तरिक्ष प्रविधिको विकास, एआईको बढ्दो प्रयोग र यी क्षेत्रमा नेपालले खोज्न सक्ने सम्भावनाबारे चर्चा गरेका थिए । प्रविधिको तीव्र विकाससँगै अन्तरिक्ष अनुसन्धान र एआईले सिर्जना गरेका नयाँ अवसर तथा सम्भावनाबारे सहभागीलाई जानकारी गराइएको थियो ।
फेस्टमा आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन तथा सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टसमेत सहभागी थिए । उनीहरूले आफ्ना परियोजना तथा उत्पादन प्रदर्शनीमा प्रस्तुत गरेका थिए । अवलोकनकर्ताले परियोजनाको अवलोकन गर्नुका साथै आफूलाई मन परेका परियोजनालाई भोट गर्ने अवसरसमेत पाएका थिए ।
स्टार्टअपलाई लगानीकर्ता तथा सम्भावित व्यावसायिक साझेदारसँग जोड्ने उद्देश्यले फेस्टमा स्टार्टअप लाउन्जको व्यवस्था गरिएको थियो । लाउन्जमार्फत उद्यमीले आफ्ना उत्पादन तथा सेवाबारे जानकारी गराउने, नेटवर्क विस्तार गर्ने र लगानी तथा व्यावसायिक साझेदारीका सम्भावना खोज्ने अवसर पाएका थिए ।
दुई दिनसम्म सञ्चालन भएको फेस्टले प्रदर्शनीमा मात्र सीमित नभई स्टार्टअप, लगानीकर्ता, नीति निर्माता, प्रविधि विज्ञ, उद्यमी तथा युवा नवप्रवर्तकलाई एउटै मञ्चमा जोड्ने काम गरेको छ । उत्पादन सार्वजनिक, मुख्य वक्ताका प्रस्तुति, नीतिगत छलफल, प्रविधिसम्बन्धी सिकाइ सत्र तथा अन्तरक्रियामार्फत सहभागीले नयाँ प्रविधि, उद्यमशीलता र व्यावसायिक सम्भावनाबारे जानकारी लिनुका साथै अनुभव आदानप्रदान गर्ने अवसर पाएका थिए ।
आयोजकका अनुसार फेस्टको मुख्य उद्देश्य नेपाली स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्नु, स्वदेशमै विकास भएका उत्पादन र प्रविधिलाई पहिचान तथा प्रवर्द्धन गर्नु र स्टार्टअपलाई बजार, लगानीकर्ता तथा सम्भावित व्यावसायिक साझेदारसँग जोड्नु रहेको छ । यस्ता कार्यक्रमले नेपाली स्टार्टअप इकोसिस्टमको विकास, युवा उद्यमशीलताको प्रवर्द्धन र प्रविधिमा आधारित नवप्रवर्तनलाई व्यावसायिक रूपान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया