५ मंसिर २०८३, शनिबार

गरिमा रोड रेस २०८३ मा खुलातर्फ तिर्थ र राज्य, कर्पोरेटतर्फ ईश्वर र दिव्या प्रथम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले यही मंसिर ७ गते सोमबार हुने २० औं वार्षिकोत्सवको शुभ अवसरमा आज (शनिबार) आयोजना गरेको गरिमा रोड रेस २०८३ सफलतापूर्वक सम्पन्न भएको छ ।

१८ औं वार्षिकोत्सवबाट सुरु गरिएको गरिमा रोड रेस प्रतियोगिताको तेस्रो संस्करणमा खुला र कर्पोरेट गरी कुल २ विधामा महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो ।

खुलातर्फको १० किमि दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय अगाडी पुगी पूनः सोही मार्ग बालुवाटार, काठमाडौं आई समापन हुनेगरी रुट तय गरिएको थियो । साथै, कर्पोरेटतर्फको ५ किमि दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारी पुगी पूनः बालुवाटार, काठमाण्डौं आई समापन हुनेगरी रुट तय गरिएको थियो ।

कुल १,४०० भन्दा बढी धावकहरुको सहभागिता रहेको यस प्रतियोगिताको खुला विधामा पुरुषतर्फ १० किमिको दूरी ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै तिर्थकुमार पुन र महिलातर्फ १० किमिको दुरी ३९ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै राज्य रावलले प्रथम स्थान हासिल गरे । साथै, कर्पोरेट विधामा पुरुषतर्फ ५ किमिको दूरी १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै ईश्वर बुढाथोकी र महिलातर्फ ५ किमिको दूरी २६ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै दिव्या विष्टले प्रथम स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई खुला तर्फको १० किमि विधामा क्रमशः ५०,००० रुपैयाँ, ३५,००० रुपैयाँ, २०,००० रुपैयाँ, १५,००० रुपैयाँ र १०,००० रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, कर्पोरेटतर्फ ५ किमि विधामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ३०,००० रुपैयाँ, २०,००० रुपैयाँ, १५,००० रुपैयाँ, १०,००० रुपैयाँ र ५,००० रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँड, सञ्चालक समितिका सदस्यहरु, पूर्व सञ्चालकहरु, शेयरधनीहरु, विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तित्वहरु, स्थानिय निकायका प्रतिनिधिहरु, पत्रकारहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । साथै, यही मंसिर ७ गते सोमबार विकास बैंकले २० औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत रक्तदान कार्यक्रम साथै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको समेत बैंकले जनाएको छ ।