पोखरा । नेपालको सुन्दर तथा पर्यटकीय नगरी पोखरामा विश्व ट्रेड युनियन महासंघ (डब्लुएफटियू)अन्तर्गतको सार्वजनिक सेवा तथा सम्बद्ध क्षेत्रको अन्तर्राष्ट्रिय ट्रेड युनियन (टियुआइपिएस एन्ड ए)को निर्देशक समिति बैठक तथा अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना हुने भएको छ ।
यही मंसिर ६, ७ र ८ गते (२०२६ नोभेम्बर २२, २३ र २४)मा लेकसाइडस्थित पोखरा भिलेज एण्ड स्पामा उक्त सम्मेलन हुन लागेको हो ।
संगठनका निर्देशक समिति अध्यक्ष अतुर सेक्युरियाको अध्यक्षतामा ‘पुँजीवाद र साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ बैठक बस्न लागेको छ । बैठकमा महासचिव जोला साफेटा, उपाध्यक्ष भोलानाथ पोखरेल लगायत निर्देशक समितिका सदस्यहरू गरी करिब २०० जनाको सहभागिता रहनेछ ।
यसैगरी, सम्मेलनको अवसरमा ‘पुँजीवाद र साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धता’ विषयमा प्रत्यक्ष तथा भर्चुअल (हाइब्रिड) माध्यमबाट अन्तर्राष्ट्रिय महिला सेमिनारसमेत आयोजना हुनेछ । १४२ देशका महिला नेतृत्वको सहभागिता रहने उक्त कार्यक्रममा नेपालका राजनीतिक दलका महिला नेतृहरुको विशेष उपस्थिति रहने कार्यक्रम छ ।
सेमिनारमा निर्धारित विषयमा महासचिव जोला साफेटाले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि भौतिक तथा विद्युतीय प्रणालीबाट विभिन्न देशका महिला श्रमिकहरूको भोगाइ, उपलब्धि, संघर्ष र वर्तमान अवस्थाका विषयमा विस्तृत छलफल गरी आगामी कार्ययोजना तय गरिनेछ । साथै, यही सेमिनारमार्फत एसियाली महिलाहरूको क्षेत्रीय समितिसमेत गठन गरिने जनाइएको छ ।
नेपालको निजामती सेवा ऐन र अन्तर्राष्ट्रिय चासो
नेपालमा सरकारले निजामती सेवा ऐनलाई अध्यादेशमार्फत खारेज गरेको र उक्त विषयमा सर्वोच्च अदालत तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मा समेत मुद्दा दर्ता भई कानुनी संघर्ष चलिरहेको सन्दर्भमा यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । श्रमिकको संगठित हुने अधिकार, स्वतन्त्रता र सामूहिक सौदाबाजीका पक्षमा नेपाल सरकारको ध्यानाकर्षण गराउने तथा आइएलओमा मुद्दा दर्ता गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेलेको टियुआइपिएस एन्डएको यो निर्देशक समिति बैठकले नेपाली श्रमिक आन्दोलनमा विशेष अर्थ राख्ने अपेक्षा गरिएको छ ।
बैठकमा विश्व श्रमिक आन्दोलनको वर्तमान अवस्था र ट्रेड युनियन अधिकारको संरक्षणको सवाललाई मुख्य एजेण्डाको रुपमा उठाइने भएको छ ।
त्यस्तै, संगठनात्मक सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह र सामूहिक सौदाबाजी लगायत विश्वभरका सार्वजनिक क्षेत्रका श्रमिकको हकहितको विषयमा छलफल हुने संगठनका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।
महिला सम्मेलनमार्फत महिला श्रमिकको अधिकार, समान कामको समान ज्याला, सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल र ट्रेड युनियन नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागिताको विषयलाई समेत उठाइने भएको छ ।
नेपालको ट्रेड युनियन आन्दोलन पछिल्लो समय विभिन्न चुनौतीका कारण रक्षात्मक अवस्थामा रहेको सन्दर्भमा यस बैठकले नेपाली श्रमिकका सवाललाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
बैठकमा महासचिव साफेटाले संगठनमार्फत आइएलओ लगायतका अन्तर्राष्ट्रिय निकायहरूको ध्यानाकर्षण गराउँदै आवश्यक पहल तथा सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ । यस ऐतिहासिक कार्यक्रमले नेपालको ट्रेड युनियन आन्दोलनलाई थप सशक्त, संगठित र स्थापित गर्न तथा महिला श्रमिकसहित समग्र श्रमिक वर्गको अधिकार र सामाजिक न्यायका पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ ।











प्रतिक्रिया