४ मंसिर २०८३, शुक्रबार

संविधान र कानुनले व्यवस्था गरेकै समयमा निर्वाचन गरौँ : प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय तहको निर्वाचन संविधान र कानूनले व्यवस्था गरेकै समयमा गनुपर्ने सुझाव दिएका छन् ।

शुक्रबार निर्वाचन आयोगले दलका शीर्ष नेताहरूसँग गरेको छलफलमा प्रचण्डले संविधान र कानूनले तोकेको समयमा निर्वाचन हुनुपर्ने बताएका हुन् । स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने गरी निर्वाचन आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गर्दै उनले यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने बताए ।

यस्तै उनले स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी रूपले निर्वाचन हुनुपर्नेमा जोड दिए । विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनलगायतका विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको उनले स्मरण गराए । उनले विगतका निर्वाचनमा कतिपय उम्मेदवारले आफ्नो मत हराएको, आफूले अपेक्षा गरेभन्दा फरक मतपरिणाम आएको तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिका ओसारपसारका क्रममा सहभागी हुन नदिएको जस्ता गुनासा गरेको स्मरण गराए ।

आगामी निर्वाचनमा यस्ता प्रश्न उठ्ने अवस्था आउन नदिन निर्वाचन प्रक्रिया थप पारदर्शी र विश्वसनीय बनाउनुपर्ने उनको भनाइ थियो। उनले विदेशमा रहेका नेपाली नागरिकको पनि मतदान अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । शान्ति सम्झौतापछि पहिलो संविधानसभाको निर्वाचनको समयदेखि नै आफूले विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राख्दै आएको उनको भनाइ छ ।

विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्न प्राविधिक र कानुनी दुवै पक्षमा गम्भीर अध्ययन आवश्यक रहेको प्रचण्डको भनाइ थियो । यसका लागि नेपालीहरूको ठुलो सङ्ख्या रहेका देशका सरकारसँग नेपाल सरकारले द्विपक्षीय वार्ता र संवाद गर्नुपर्ने तथा निर्वाचन आयोगले पनि आवश्यक सहजीकरण गर्नुपर्ने उनले बताए।