हैदराबाद । चेन्नईमा आधारित संगीतकार तथा गायक देवन एकाम्बरम र गायिका सुशाद्वारा सिर्जना गरिएको ‘वरुवाई’ नामक तमिल गीतले ग्रामी मनोनयन प्राप्त गरेको छ ।
सन् २०२७ मा आयोजना हुने ६९ औं ग्रामी अवार्ड्सका लागि यस गीतलाई ‘बेस्ट ग्लोबल म्युजिक पर्फर्मेन्स’ विधामा छनोट गरिएको हो ।
ग्रामी अवार्ड्सको इतिहासमा मनोनयनमा पर्ने यो पहिलो तमिल गीत हो । साथै, सन् २०२७ को ग्रामी अवार्ड्सका लागि भारतबाट आधिकारिक रूपमा पठाइएको यो एक मात्र प्रतिनिधित्व हाे ।
महान् कवि सुब्रमण्य भारतीको १०० वर्ष पुरानो कवितामा आधारित यो गीत कुनै पनि रेकर्ड लेबल बिना सार्वजनिक गरिएको थियो । करिब तीन दशकदेखि संगीतको दुनियाँमा सक्रिय भारतीय-अमेरिकी संगीतकार तथा पार्श्व गायक देवन एकाम्बरमले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन् कि यो क्षण उनी र सुषाका लागि मात्र नभई, तमिल संगीत र महान् कवि भारतीका सिर्जनाहरूका लागि समेत गर्वको विषय हो ।
सञ्चारमाध्यमसँगको कुराकानीमा देवनले बताए अनुसार यस विधामा परेका ५२६ प्रविष्टिहरूमध्ये धेरै चर्चित नामहरू समावेश थिए, त्यसैले उनलाई आफू सफल हुने सम्भावना करिब ५० प्रतिशत मात्र रहेको लागेको थियो । देवनका अनुसार उनलाई ग्रामी मनोनयनमा पर्नका लागि मार्केटिङमा कम्तीमा २०,००० अमेरिकी डलर (करिब १८ लाख ७० हजार भारतीय रुपैयाँ) खर्च गर्नुपर्ने बताइएको थियो तर उनले कुनै पनि सशुल्क प्रचार अभियान (पेड क्याम्पेन) चलाएनन् र आफ्नो सम्पूर्ण प्रचारकार्य इन्स्टाग्राममार्फत मात्रै गरे ।
यो उपलब्धिलाई चिट्ठा जितेजस्तै हो भनी वर्णन गर्दै उनले भने कि उनी अब जीवनभरका लागि ‘ग्रामी’ मनोनित व्यक्ति बनेका छन् र कसैले पनि यो सम्मान उनीबाट खोस्न सक्दैन ।
ग्रामी अवार्डसम्म पुगेको ‘वरुवै’ नामक गीतको एउटा महत्त्वपूर्ण पृष्ठभूमि छ । यसका शब्दहरू करिब १०० वर्षअघि बेलायती औपनिवेशिक शासनकालमा महान् तमिल कवि सुब्रमण्य भारती (जसलाई ‘भारथियार’ भनेर पनि चिनिन्छ)ले लेखेका थिए । उनले यसलाई भगवान् कृष्णप्रति समर्पित एउटा भक्ति गीत (भजन)का रूपमा रचना गरेका थिए ।
यस कवितामा कविले भगवान् कृष्णलाई पुकार्दै आफ्नो जीवनको अन्धकार हटाइदिन प्रार्थना गरेका छन् । साथै, उनले भगवान् कृष्णलाई समाजभित्र रहेका विकृतिहरू हटाउन र सही मार्ग देखाउन आग्रह गरेका छन् । देवन एकाम्बरमले परम्परागत भक्ति काव्यलाई आधुनिक संगीतसँग जोडेर यसलाई नयाँ आयाम दिएका छन् । शास्त्रीय राग ‘देश’मा आधारित यो रचनाले परम्परागत भाव र समकालीन धुनबीच सन्तुलन कायम गरेको छ ।
महान् कवि सुब्रमण्य भारतीले तमिल साहित्य र भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा विशेष स्थान राख्छन् । स्वतन्त्रता आन्दोलनका क्रममा, उनले आफ्ना ओजस्वी कविता र लेखमार्फत बेलायती शासनविरुद्ध आम जनतामा चेतना जगाउने काम गरेका थिए ।
उनका रचनाहरूले मानिसहरूलाई अन्याय र दासताविरुद्ध आवाज उठाउन प्रेरित गरे । सुब्रमण्य भारतीको लेखनको एउटा मुख्य विशेषता भनेको ईश्वरप्रतिको गहिरो भक्ति र मातृभूमिप्रतिको देशभक्तिपूर्ण प्रेमको अनौठो संगम थियो । आफ्ना कविताहरूमार्फत उनले निरन्तर स्वतन्त्रता, सामाजिक समानता र सामाजिक सुधारका सन्देशहरू प्रवाह गरे ।












प्रतिक्रिया