१ मंसिर २०८३, मंगलबार

सरकारविरुद्ध नेपाल पत्रकार महासंघको आन्दोलन घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नियन्त्रण गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रमबारे जानकारी दिएका हुन् ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रणको मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनाधिकृत गाडी तेर्स्याउनेलाई हालसम्म पनि कारबाही नगरेपछि आन्दोलनमा उत्रिनुपरेको महासंघले जनाएको छ ।

महासंघका अनुसार, गोरखापत्र लगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन, लोककल्याणकारी विज्ञापन बापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरेको तथा वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा आन्दोलन गर्न लागिएको हो ।

महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअनुसार भोलि मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ ।

मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)सँग छलफल गरिनेछ । मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । मंसिर ९ गते देशभरका जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भेला भई ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित प्रदर्शन गरिने महासंघले जनाएको छ ।

महासंघका अनुसार माग पूरा नभए थप आन्दोलन तय गरिनेछ ।