१ मंसिर २०८३, मंगलबार

अदालतको निर्णयबारे सार्वजनिक रूपमा बोल्नसमेत अप्ठ्यारो हुने अवस्था आयो : केपी ओली

न्याय प्राप्त गर्न ढिलाइ हुनु पनि न्याय नपाएसरह हो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट भएका फैसलाप्रति असन्तुष्टि जनाउँदै न्याय सम्पादनमा ढिलाइ भएको टिप्पणी गरेका छन्। अदालतको निर्णयबारे सार्वजनिक रूपमा बोल्नसमेत अप्ठ्यारो हुने अवस्था रहेको भन्दै उनले आफूविरुद्ध अर्को मुद्दा थपिन सक्ने कताक्ष गरेका हुन्।

अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले समयमै फैसला नगरेको भन्दै प्रश्न उठाए। निर्वाचनअघि नै टुंगिनुपर्ने मुद्दा लामो समयसम्म विचाराधीन रहेको उनको भनाइ थियो।

उनले भने, ‘हामीलाई सरकारमा जान नदिन, गत वर्ष अत्यन्तै असंवैधानिक ढङ्गले सरकार उल्टाइयो। प्रतिनिधिसभा असंवैधानिक ढङ्गले, अधिकारविहीन व्यक्तिहरूका सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो। हामीले पुनःस्थापनाका लागि माग गर्‍यौँ। अघिपछि हतारिएर फैसला हुन्छ। त्यसमा अहिले पनि फैसला भएको छैन। फागुनमा चुनाव भइसक्यो, मुद्दा अहिले पनि फैसला भएको छैन।’

न्याय प्राप्त गर्न ढिलाइ हुनु पनि न्याय नपाएसरह भएको ओलीले बताए। मधेश प्रदेशमा सरकार गठनसम्बन्धी सर्वोच्च अदालतको आदेशप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। आफूहरूले सरकारबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समयसीमाबारे अदालतको फैसलाले अन्योल सिर्जना गरेको उनको भनाई छ।

उनले भने, ‘मधेशमा हामीले सरकारबाट राजीनामा गरेका छौँ। अब ४ गतेसम्ममा दाबी प्रस्तुत गर्नुपर्नेछ। सर्वोच्च अदालतबाट एउटा अनौठो फैसला भएको छ त्यसले गर्दा हामीले ४ गतेसम्म पर्खिनुपर्नेछ। के अनौठो फैसला भने ७ दिनभित्र दाबी पेस गर्नुपर्ने भनेका ठाउँमा ७ दिन नै पर्खिनुपर्ने। एउटा बहुमत पुर्‍याएर ७ दिनभित्र दाबी पेस गरिसकेपछि अर्को बहुमत हुन सक्दैन।’

सर्वोच्च अदालतले गरेका निर्णय आफूहरूलाई चित्त नबुझे पनि मान्नुपर्ने अवस्था रहेको ओलीले बताए। अदालतका फैसलाबारे थप टिप्पणी गर्दा आफूविरुद्ध मुद्दा लाग्न सक्ने भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिनसमेत सचेत हुनुपर्ने अवस्था रहेको बताए।

ओलीले भने, ‘अहिले त्यतातिर नजाऔँ। फेरि एउटा मुद्दा थपिन बेर लाउँदैन। जसो गर्दा पनि अपमान गर्‍यो भन्छन्। केही बोल्नै नहुने, अहिले पनि सायद मुद्दा होलान् त्यहाँ, थाहा छैन याद छैन मलाई त।’