काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ चरणमा पुगेको सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका विस्फोटक ओपनर जर्ज मुन्सीलाई टोलीमा समावेश गरेको छ। बाँकी खेलका लागि मुन्सीलाई अनुबन्ध गरिएको फ्रेन्चाइजले जनाएको छ।
सुदूरपश्चिमले आफ्ना प्रभावशाली खेलाडी ब्रान्डन म्याकमुलेनको स्थानमा मुन्सीलाई भित्र्याएको हो। म्याकमुलेन टोलीबाट बाहिरिएपछि उनको स्थान पूर्ति गर्न स्कटल्यान्डका ३३ वर्षीय ब्याटरलाई अनुबन्ध गरिएको हो।
आक्रामक ब्याटिङका लागि परिचित मुन्सी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले स्कटल्यान्डका लागि ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ५९८ रन बनाएका छन्। यस क्रममा उनको स्ट्राइक रेट २४३ रहेको छ।
टी–२० अन्तर्राष्ट्रियमा मुन्सीको उच्च स्कोर १३२ रन हो। उनले आफ्नो करिअरमा तीन शतक र १४ अर्धशतक प्रहार गरेका छन्।
सुदूरपश्चिमले मंगलबार लुम्बिनी लायन्ससँग पहिलो क्वालिफायर खेल्दैछ। उक्त खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ।
क्वालिफायरको महत्वपूर्ण खेलअघि मुन्सीको आगमनले सुदूरपश्चिमको ब्याटिङ लाइनअपलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।












प्रतिक्रिया