३० कार्तिक २०८३, सोमबार

इनम सापकोटाको नाम जोडिएको मृत्यु प्रकरणमा प्रहरीको दावी– मानसिक समस्यामा थिए खतिवडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । झापाको कनकाई नगरपालिकामा फोटो स्टुडियो सञ्चालन गर्दै आएका यशु खतिवडा मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। मृत्यु हुनुअघि सामाजिक सञ्जालमा लेखिएका उनका स्टाटसमा प्रहरी हिरासतमा रहेका भनिएका इनम सापकोटाको नामसमेत उल्लेख भएपछि घटनाले थप चर्चा पाएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खतिवडा आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए। मृत्युअघि उनले सामाजिक सञ्जालमा दुईवटा स्टाटस लेखेको पाइएको छ। एउटा स्टाटस घटनाभन्दा तीन दिनअघि र अर्को मृत्यु भएको दिन पोस्ट गरिएको थियो।

उनका स्टाटसमा आफूले गरेको गल्तीको सजाय परिवारलाई नदिन आग्रह गरिएको छ। आफूले भोगिरहेको जीवन नै सजाय भएको उल्लेख गर्दै उनले परिवारका सदस्यलाई यस विषयमा नजोड्नसमेत अनुरोध गरेका छन्।

मृत्युअघि लेखिएको अर्को स्टाटसमा उनले इनमको नाम उल्लेख गरेका छन्। थर नखुलाई लेखिएको उक्त पोस्टमा इनमको मोबाइलको ह्वाट्सएपबाट सन्देश आएको र पछि मेटिएको दाबी गरिएको छ। उक्त घटनालाई आफ्नो परिवार र निर्दोष बुबालाई फसाउन कसैले रचेको नाटकका रूपमा व्याख्या गर्दै उनले त्यसमा आफ्नो दोष रहेको उल्लेख गरेका छन्।

त्यस्तै, आफ्नो पारिवारिक सदस्यलाई आफूले गरिरहेको साधनाबारे जानकारी नभएको र उक्त साधना गलत नरहेको उनको भनाइ छ। तर उनले स्टाटसमा उल्लेख गरेको इनम को हुन्, कस्तो साधना गरिरहेका थिए र बुबालाई फसाउन खोज्ने व्यक्ति को हुन् भन्ने विषय भने खुलाएका छैनन्।

खतिवडाका छिमेकी लीलाराज झापालीले इनमसँग उनको सम्बन्धबारे आफूलाई जानकारी नभएको बताएका छन्। बाल्यकालदेखिका साथी रहेका खतिवडा पछिल्ला केही दिनदेखि मानसिक समस्यामा रहेको उनले बताए। परिवारले पनि उनको समस्याबारे समयमै जानकारी पाउन नसकेको झापालीको भनाइ छ।

यता, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले पनि खतिवडा मानसिक समस्यामा रहेको बुझिएको बताएकी छन्। इनमसँगको सम्बन्धबारे हालसम्म कुनै तथ्य खुलिनसकेको उल्लेख गर्दै उनले अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने बताइन्।

प्रहरी उपरीक्षक खड्काले भनिन्- ‘कसैको कुनै कनेक्सन रहेछ भने अनुसन्धानपछि मात्र खुल्ने र अहिले नै यसै भन्न सक्ने अवस्था छैन।’ उनका अनुसार मृतकको पोस्टमार्टम भइसकेको छ भने परिवारले शव बुझेर अन्त्येष्टिसमेत गरिसकेको छ। घटना आइतबार भएको थियो।