काठमाडौँ, ७ भदौ । पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल र भारतबीच रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना निर्माणसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले एक समारोहबीच हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षरपछि वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले २० वर्षदेखिको सपनाका रुपमा रहेको पाइपलाइन परियोजना आज साकार भएको बताउँदै परियोजना निर्माणले नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने जानकारी गराउनुभयो ।
मन्त्री थापाले परियोजनाको निर्माण अवधि ३० महिनाको समय तोकिएको भए पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्दै परियोजना सम्पन्नपछि पेट्रोलियम पदार्थको लागतसमेत कम हुने बताउनुभयो ।
समारोहमा राज्यमन्त्री प्रधानले गत वर्ष भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमणका बेला बाचा गरेअनुसार पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको स्पष्ट पार्नुभयो । दुवै सरकारको प्राथमिकतामा रहेको सो परियोजनाको निर्माणले महत्वपूर्ण आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले परियोजना निर्माणमा दुवै मुलुकबीच हस्ताक्षर ऐतिहासिक क्षण भएको बताउँदै यसले पेट्रोलियम पदार्थको सहज आपूर्ति र लागतसमेत कम हुने बताउनुभयो ।
कुल रु चार अर्ब ४० करोड लागतमा निर्माण हुने ४१ किलोमिटर लम्बाइको सो पाइपलाइन परियोजनामा नेपाल र भारत सरकारको संयुक्त लगानी रहनेछ । भारतमा दुई किमी र नेपालमा ३९ किमी लम्बाइ रहने सो परियोजना निर्माणमा भारतको रु तीन अर्ब २० करोड र नेपालको रु एक अर्ब २० करोड लागत रहने नेपाल आयल निगमले बताएको छ ।
पाइपलाइन विस्तारपछि बन्द र आन्दोलनका समयमा पनि मुलुकमा पट्रोलियम पदार्थको आपूर्तिमा कमी नहुने र यसले वार्षिक करिब रु ७० करोड यातायात लागत घटाउने अनुमान गरिएको छ । साथै सिमानामा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको समेत ट्राफिक जाम नहुने भएको छ । रासस
















प्रतिक्रिया