२८ कार्तिक २०८३, शनिबार

छठका लागि नदी, खोला र पोखरीका किनारमा सरसफाइ तथा घाट सजावट धमाधम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–राहुल राय

सिरहा । छठ पर्व आउन अब एक दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा छठघाट सरसफाइ र सजावटको कामले तीव्रता पाएको छ । पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले स्थानीयवासी, युवा तथा श्रद्धालु भक्तजनहरू सामूहिक रूपमा घाट व्यवस्थापनमा जुटेका छन् ।

सिरहाको गोलबजार, चोहर्वा, निपनिया, लहान, नरहा लगायतका विभिन्न स्थानमा छठघाट सफाइ तथा सजावटको काम धमाधम भइरहेको छ ।

निपनिया पोखरी, मैनाबती खोला र चोहर्वा पोखरी लगायतका जलाशय आसपासका क्षेत्रमा स्थानीयवासीले श्रमदानमार्फत घाट सफा गर्ने, झारपात हटाउने, बाटोघाटो मर्मत गर्ने तथा पूजास्थल व्यवस्थित बनाउने काम गरिरहेका छन् ।

कतिपय स्थानमा स्थानीयवासीले कोदालो, खुर्पी र हँसिया लगायतका सामग्री प्रयोग गरी सरसफाइ गरिरहेका छन् भने आवश्यकताअनुसार जेसीबीसमेत परिचालन गरेर घाट सम्याउने काम भइरहेको छ ।

त्यस्तै, विभिन्न घाटमा टेन्ट, पण्डाल तथा आकर्षक सजावटका सामग्री राखेर पूजास्थललाई व्यवस्थित र सुन्दर बनाउने तयारीसमेत भइरहेको छ ।

गोलबजार नगरपालिका–७ का स्थानीय सरोज रायका अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई पूजाअर्चना गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीयवासी केही दिनअघिदेखि नै सरसफाइ तथा घाट व्यवस्थापनमा सक्रिय भएका हुन् ।

उनले भने, “छठ हाम्रो प्रमुख आस्थाको पर्व हो । व्रतालु तथा श्रद्धालुहरूलाई पूजाअर्चना गर्न कुनै समस्या नहोस् भनेर बाटोघाटोदेखि छठघाटसम्म सरसफाइ र व्यवस्थापनको काममा हामी पहिलेदेखि नै जुटेका छौँ ।

त्यस्तै, स्थानीय नितिस रायले पनि छठ पर्वलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीयवासी एकजुट भएर तयारी गरिरहेको बताए । उनका अनुसार घाट व्यवस्थापनका लागि जेसीबीदेखि हातले प्रयोग गरिने विभिन्न उपकरण समेत परिचालन गरिएको छ ।

सूर्यदेव र छठी माताको आराधनासँग जोडिएको छठ पर्वमा व्रतालुहरूले कठोर व्रत तथा उपवास बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ । यस पर्वमा नदी, पोखरी तथा अन्य जलाशयका किनारमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।

छठ पर्व नजिकिँदै जाँदा सिरहाका गाउँदेखि सहरसम्म धार्मिक उत्साह र चहलपहल बढ्दै गएको छ ।

स्थानीयबासीको एकता, सामूहिक श्रमदान र सक्रियताले छठघाटहरू सफा, सुन्दर तथा व्यवस्थित बन्दै गएका छन् ।