काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको आयोजनामा विजयादशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वमन्त्री तथा प्रमुख सल्लाहकार जीतु गौतमको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठले नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै कपडा तथा सिलाइ व्यवसायमा आबद्ध सम्पूर्ण व्यवसायीलाई एउटै संस्थागत छातामुनि एकताबद्ध गर्दै व्यवसायीहरूको हकहित, पेसागत सम्मान र आर्थिक समृद्धिका लागि महासंघ प्रतिबद्ध रहेको बताए ।
उनले कपडा तथा सिलाइ व्यवसाय केवल जीविकोपार्जनको माध्यम मात्र नभई नेपाली मौलिक पहिचान, सीप, कला, संस्कृति र उद्यमशीलतासँग जोडिएको महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको संरक्षण, प्रवर्द्धन र आधुनिकीकरणका लागि सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए । साथै, स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धन, दक्ष जनशक्ति उत्पादन, सीप विकास, आधुनिक प्रविधिको उपयोग तथा व्यवसायीमैत्री नीतिनिर्माणका लागि महासंघले सम्बन्धित निकायसँग समन्वय र पहल गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख अतिथि गौतमले व्यवसायीहरूको एकता, सहकार्य र संस्थागत मजबुती नै समग्र क्षेत्रको विकासको आधार भएको उल्लेख गर्दै महासंघलाई अझ सशक्त, प्रभावकारी र व्यवसायीको साझा आवाजका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा महासंघका उपाध्यक्ष प्रेम महर्जन, कोषाध्यक्ष राज कार्की, स्थायी कमिटी सदस्य तथा राष्ट्रिय महिला उद्यमी समितिकी सचिव संगीता लामिछाने, बागमती प्रदेश संयोजक भीम दर्नाल, केन्द्रीय सदस्यद्वय ताराबहादुर परियार र रामप्यारा छिनाल, काठमाडौं जिल्ला अध्यक्ष उद्धवबहादुर थापा मगरलगायत महासंघका विभिन्न तहमा रहेका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
त्यसैगरी, महासंघअन्तर्गतका विभिन्न प्रदेश, जिल्ला संघ तथा राष्ट्रिय महिला उद्यमी समितिमा आबद्ध पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो ।
आयोजकका अनुसार यस कार्यक्रमले कपडा तथा सिलाइ व्यवसायीहरूबीच एकता, सहकार्य र संस्थागत एकजुटताको महत्त्वलाई थप उजागर गरेको छ । व्यवसायीहरूका साझा समस्या, चुनौती र अवसरलाई सामूहिक रूपमा पहिचान गरी समाधानका लागि एकीकृत आवाज उठाउने, स्वदेशी कपडा तथा सिलाइ व्यवसायको संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्ने तथा नयाँ पुस्तालाई यस पेसाप्रति आकर्षित गर्ने दिशामा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ ।
त्यसैगरी, महिला उद्यमशीलताको विकास, सीपमूलक रोजगारी सिर्जना, व्यवसायीको पेसागत सुरक्षा, सम्मान र आर्थिक आत्मनिर्भरताका लागि सबै तहका संघसंस्था तथा व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको विषयलाई पनि कार्यक्रमले प्राथमिकताका साथ उठाएको छ । एकता नै शक्ति हो, सहकार्य नै विकासको आधार हो र स्वदेशी सीप तथा उत्पादनको प्रवर्द्धन नै समृद्धिको बाटो हो भन्ने भावनालाई आत्मसात् गर्दै महासंघले समग्र कपडा तथा सिलाइ व्यवसायको संस्थागत विकास र व्यवसायीहरूको साझा हितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।
आपसी सद्भाव, एकता, भाइचारा र संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको महासंघले जनाएको छ ।












प्रतिक्रिया