काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण सञ्चार प्रणालीमा आएको खराबीका कारण शुक्रबार पछिल्लो चार घण्टा बढी समयदेखि उडानहरू अस्थायी रूपमा रोकिएको छ ।
अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले सुरक्षाको कारणले गर्दा देशभरका विमानस्थलहरूमा उडानहरू रोक्न आदेश दिएको थियो । जसकारण यस अवधिमा ८ हजार भन्दा बढी उडानहरू रद्द गरिएको छ भने यसबाट करिब १५ लाख बढी यात्रुहरू प्रभावित भएका छन् ।
अमेरिकी यातायातमन्त्री सीन डफीले सामाजिक सञ्जाल एक्समार्फत सबै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरको सञ्चार प्रणालीमा समस्या देखिएपछि एफएएले देशव्यापी उडान रोक्ने निर्णय गरेको जानकारी दिएका छन् ।
उनका अनुसार एफएका प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ ।
एफएएका अनुसार यो अवरोध अस्थायी दूरसञ्चार प्रणाली विफलताका कारण भएको हो । सावधानीका रूपमा सबै उडान रोकिएको र हवाई क्षेत्रमा रहेका सबै विमानको अवस्था पहिचान गरिएको प्रशासनले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडानलाई भने अवस्थाअनुसार छुट्टाछुट्टै निर्णय गरेर व्यवस्थापन गरिने बताइएको छ ।
अमेरिकाका २२ वटै एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या देखिएको थियो । ती केन्द्रहरूले आ–आफ्नो क्षेत्रको हवाई यातायात व्यवस्थापन गर्नुका साथै विशेषगरी विमानस्थलतर्फ आइरहेका विमानलाई मार्गनिर्देशन गर्ने जिम्मेवारी सम्हाल्छ ।
अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ (९/११)को आक्रमणयता यस्तो घटना घटेको यो दोस्रोपटक हो । यसअघि, सन् २०२३ को जनवरीमा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा उडानहरू रोकिएको थियो ।











प्रतिक्रिया