–भवानी भट्ट
टोकियो (जापान) । जापानमा गम्भीर स्वास्थ्य समस्याका कारण लामो समयदेखि उपचाररत नेपाली चेली विष्णु कुँवरको उपचार तथा स्वदेश फिर्ती अभियानमा जापानबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ ।
जापानमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी टीका श्रेष्ठले विष्णुको उपचार र नेपाल फर्काउने व्यवस्थाका लागि ५ लाख १५ हजार रुपैयाँ सहयोग गरेका छन् । यो रकम अभियानमा हालसम्म प्राप्त भएको सबैभन्दा ठूलो व्यक्तिगत सहयोग हो ।
बागलुङको बडिगाड गाउँपालिका–१० की विष्णु अध्ययनका लागि जापान आएकी थिइन् ।

गत मे १३ मा जापानको हानेदा क्षेत्रमा पार्ट टाइम काम गर्ने क्रममा अचानक ढलेपछि उनलाई गम्भीर मस्तिष्कघात (ब्रेन ह्यामरेज) भएको थियो । त्यसपछि उलाई अस्पताल भर्ना गरी जटिल शल्यक्रियासहित उपचार गरिएको थियो । लामो समय सघन उपचारमा रहेकी विष्णुको स्वास्थ्यमा क्रमिक सुधार भए पनि थप उपचार, पुनर्स्थापना र निरन्तर हेरचाह आवश्यक छ ।
परदेशको अस्पतालमा उपचाररत विष्णुलाई नेपाल फर्काएर परिवारको साथमा थप उपचार गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन भइरहेको छ । यस अभियानमा जापानसहित विभिन्न देशमा रहेका नेपालीहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्दै आएका छन् ।
यसै क्रममा श्रेष्ठले उपलब्ध गराएको ५ लाख १५ हजार रुपैयाँले विष्णुको उपचार तथा स्वदेश फिर्ती अभियानलाई महत्त्वपूर्ण आर्थिक टेवा पुग्नेछ ।
श्रेष्ठ जापानमा व्यवसाय गर्दै आएका सामाजिक तथा मानवीय सेवामा सक्रिय नेपाली व्यवसायी हुन् । उनले यसअघि नेपालमा भोटेकोशी क्षेत्रमा आएको बाढीका बेला नेपाल सरकारको राहत कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।
विपद्का बेला राष्ट्रियस्तरको राहत अभियानदेखि उपचारको आवश्यकता परेका व्यक्तिलाई सहयोग गर्नेसम्मका कार्यमा उनले देखाउँदै आएको सक्रियता सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको उदाहरण हो ।











प्रतिक्रिया