बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको चियापान तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीकै दुई पक्षबीच कुटाकुट भएको छ ।
बिहीबार दिउँसो बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ भलुही बजारमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीकै दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन् ।
बारा–४ का सांसद रहबर अन्सारीको प्रमुख आतिथ्यतामा करिब ७० जनाको उपस्थितिमा कार्यक्रम भइरहेको थियो । सोही क्रममा निर्माणाधीन श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माणमा अनियमितता भएको आरोप लगाइएपछि विवाद सुरु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास मियाँ अन्सारीले पूर्ववडाध्यक्ष हाल रास्वपामा प्रवेश गरेका असलम देवानमाथि अनियमितताको आरोप लगाएपछि विवाद बढ्दै गएर हात हालाहालको स्थिति बनेको बताइएको छ ।
झडपपछि प्रमुख अतिथि सांसद अन्सारी कार्यक्रमस्थलबाटै बाहिरिएका थिए ।
घटनामा घाइते भएका तीन जनाको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अस्पताल परिसरमा समेत दुई पक्षबीच झडप भएको भिडियो सार्वजनिक भएको छ ।
प्रहरीले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।











प्रतिक्रिया