काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा। थानी बिन अहमद अल जियुदीसँग भेट गरी नेपालमा लगानी विस्तारका लागि आग्रह गरेका छन्।
भेटका क्रममा दुई देशबीच व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने, लगानीका नयाँ क्षेत्र पहिचान गर्ने तथा पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको ढकालले बताएका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै नेपाल र यूएईबीच आर्थिक साझेदारीका सम्भावनाबारे कुराकानी भएको जानकारी दिएका हुन्।
नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आगामी वर्ष ५० वर्ष पुग्दैछ। यस अवसरलाई विशेष कार्यक्रमसहित मनाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको ढकालले उल्लेख गरेका छन्। स्वर्णजयन्तीलाई ऐतिहासिक अवसरका रूपमा मनाउन यूएईका मन्त्री थानीले समेत चासो व्यक्त गरेको उनको भनाइ छ।
दुई देशका सरकारी निकाय तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषय पनि भेटमा उठेको थियो। नेपालमा लगानी गर्न इच्छुक विदेशी कम्पनी तथा लगानीकर्ताका लागि नीतिगत स्पष्टता र सहज नियामकीय व्यवस्था आवश्यक रहेको भन्दै लगानीसम्बन्धी संरचना थप बलियो बनाउने विषयमा समेत छलफल भएको ढकालले बताएका छन्।
हवाई सम्पर्क विस्तारलाई पर्यटन विकाससँग जोड्दै ढकालले यूएईबाट पोखरासम्म फ्लाई दुबईले सुरु गरेको सिधा उडानको स्वागत गरेका छन्। उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म पनि यूएईबाट नियमित सिधा उडान सञ्चालन गर्न आग्रह गरेका छन्। यस्तो सेवा सुरु भए लुम्बिनी र यूएईबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुनुका साथै धार्मिक तथा पर्यटन गतिविधि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
भेटका क्रममा ढकालले यूएईका लगानीकर्तालाई नेपालका जलविद्युत्, कृषि, सूचना प्रविधि र डेटा सेन्टरजस्ता क्षेत्रमा लगानीको सम्भावना खोज्न निमन्त्रणा दिएका थिए। त्यसैगरी, केबलकार र स्की रिसोर्टलगायतका पर्यटन पूर्वाधार निर्माणमा समेत यूएईको निजी क्षेत्रले लगानी गर्न सक्ने सम्भावनाबारे उनले ध्यानाकर्षण गराएका छन्।












प्रतिक्रिया