२६ कार्तिक २०८३, बिहिबार

टेलिकमको कमजोर नेटवर्क सेवाबाट सुदूरपश्चिमको तीन स्थानीय तहका नागरिक हैरान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५, पाटन नगरपालिका–१०, सिगास गाउँपालिका–३ लगायतका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क सेवा गुणस्तरीय हुन नसक्दा स्थानीय नागरिकले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएका छन् ।

मोबाइल नेटवर्क कमजोर हुने, फोन गर्दा आवाज स्पष्ट नसुनिने, पटक–पटक कल काटिने तथा इन्टरनेट सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने समस्याले स्थानीय बासिन्दा हैरान भएका छन् ।

वर्तमान समयमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको भए पनि दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकले अझै भरपर्दो सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था दुःखद् रहेको स्थानीयको गुनासो छ ।

विशेषगरी विद्यार्थी, शिक्षक, व्यवसायी, वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्य तथा सर्वसाधारण नागरिकलाई दैनिक सञ्चार सम्पर्कमा कठिनाइ भइरहेको छ । आपत्कालीन अवस्थामा समेत फोन सम्पर्क गर्न नसकिने अवस्थाले थप समस्या सिर्जना गरेको स्थानीयको भनाइ छ ।

यस समस्याप्रति सम्बन्धित जनप्रतिनिधि, राजनीतिक नेतृत्व, नेपाल टेलिकमका जिल्ला तथा केन्द्रीय कार्यालय र सञ्चारसम्बन्धी निकायको गम्भीर ध्यानाकर्षण गराउँदा पनि कुनै ठोस कदम चालेको छैन ।

स्थानीयबासीले उक्त क्षेत्रमा नेटवर्कको प्राविधिक अवस्था तत्काल अनुगमन गरी आवश्यक टावर विस्तार, क्षमता वृद्धि तथा सेवा सुधार गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

ग्रामीण क्षेत्रका नागरिकले पनि सहरी क्षेत्रका नागरिकसरह गुणस्तरीय सञ्चार सेवा पाउने अधिकार सुनिश्चित गरिनुपर्छ । विकासका ठूला भाषणभन्दा नागरिकले दैनिक जीवनमा अनुभूति गर्ने सेवा र सुविधा महत्वपूर्ण हुन्छन् ।

सम्बन्धित निकायले यस समस्यालाई गम्भीरतापूर्वक लिई यथाशीघ्र समाधानका लागि आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ ।