विराटनगर, ३ असार । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामी असोजसम्म सदनबाट पारित भएर आउने कर्मचारी चौथो संशोधन ऐनको आधारमा विदेशमा स्थायी रुपमा बस्ने (पिआर) एवम् डिभी चिट्ठाबाट अमेरिकामा बस्ने निजामती कर्मचारीलाई कारबाही गरिने बताउनुभएको छ ।
नेकपा (एमाले) पार्टी कार्यालय पाञ्चाली विराटनगरमा मंगलबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले ऐन आएलगत्तै सूचना एवम् जानकारीका आधारमा त्यस्ता निजामती कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्नेसमेत प्रष्ट पार्नुभयो ।
उहाँले अहिले आफ्नो जानकारीमा करिब चारसय त्यस्ता कर्मचारीको नामावली आएको स्पष्ट पार्नुभयो ।
उहाँले यही वर्ष अर्को एक अन्य ऐनबाट सेना, प्रहरी, शिक्षक, चिकित्सकलगायतका नेपाल सरकारबाट तलब भुक्तानी लिने राष्ट्रसेवक कर्मचारीहरू आफ्नो क्षेत्रबाहेक अन्य लाभदायी क्षेत्रमा कार्य गरेको पाइए कारबाही गरिने बताउनुभयो ।
मन्त्री पण्डितले गैरजिम्मेवार एवम् विश्वसनीयता गुमाएका सञ्चारमाध्यमले पिआर र डिभी लिएका निजामती कर्मचारीलाई जोगाउन आर्थिक सङ्कलन गरेको भन्ने आफूमाथिको आरोप पूर्ण रुपमा गलत भएको र प्रमाण देखाए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभयो ।
उहाँले पार्टीको महाधिवेशनका लागि आफूले कोही कसैसँग चन्दा सङ्कलन नगरेको प्रष्ट पार्दै मन्त्री पदबाट आउने पारिश्रमिकबाटै अधिवेशनका लागि चन्दा दिने बताउनुभयो ।
उहाँले महाधिवेशनमा आफू जिम्मेवार पदाधिकारीका रुपमा उठ्ने जानकारी दिँदै महाधिवेशनपछि पार्टी झन् एकढिक्का भएर जनतासामु जाने छ भन्नुभयो ।
मन्त्री पण्डितले सरकार आगामी एक वर्षभित्र जनतालाई लोकतान्त्रिक संविधान दिन क्रियाशील रहेको पनि प्रष्ट पार्नुभयो ।
















प्रतिक्रिया