–प्रमिला कार्की
भक्तपुर । तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ । तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ ।
चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा सयपत्री फूलखेतीमा सक्रिय छन् । वर्षौंदेखि व्यवसायिक रुपमा खेती गर्दै आएका किसानहरुका लागि यो राम्रो आम्दानीको माध्यम बनेको छ । ज्ञानेन्द्र थापाले करिब १२–१३ वर्षदेखि व्यावसायिक रूपमा मखमली फूलखेती गर्दै आएका हुन् । उनले अहिले करिब दुई रोपनी क्षेत्रफलमा मखमली फूल लगाएका छन् । पहिले पनि फूल लगाउने गरेकामा पछिल्लो समय यसलाई नियमित व्यवसायका रूपमा अगाडि बढाएको उनले बताए ।

‘विगत वर्षदेखि नै फूल रोपण गर्दै आएका हौँ । अहिले करिब दुई रोपनीमा मखमली फूल लगाएका छौँ । व्यवसायिक रूपमा नै अगाडि बढाउँछौँ। प्रत्येक वर्ष उति नै क्षेत्रफलमा खेती गर्छौँ,’ उनले भने ।
थापाका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा फूल उत्पादन कम भएको छ । अत्यधिक वर्षा र रोगका कारण फूलका बोट सुक्ने तथा डढ्ने समस्या देखिएको उनले बताए । फूलखेतीमा बीउको गुणस्तरदेखि औषधि तथा विषादीको प्रयोगसम्म ध्यान दिनुपर्ने उनको अनुभव छ ।
‘यसवर्ष धेरै फूल डढ्यो, बोट खङ्ग्रङ्ग भयो । बल्लबल्ल फेरि पलाएको छ । पानी धेरै परेपछि फूलको बोट मर्ने समस्या छ । त्यसैले यसपालि पोहोरको तुलनामा फूल कम फुलेको छ,’ उनले भने ।
उत्पादनमा कमी भए पनि बजारमा फूलको मूल्य भने केही बढेको किसानको भनाइ छ । थापाका अनुसार यस वर्ष मखमली फूलको मूल्य प्रतिमाला ३० देखि ३५ रुपैयाँसम्म पुगेको छ । उनले केही दिनअघि मात्रै प्रतिमाला २५ रुपैयाँमा बिक्री गरेका थिए ।

थापाले असारको मध्यदेखि नै फूल टिपेर बिक्रीका लागि तयार पार्ने गरेका छन् । साउनको पहिलो तथा दोस्रो सातादेखि माला बाहिरी बजारमा पठाउन थालिन्छ । नेपाली मखमली माला भारत, अस्ट्रेलियालगायत देशमा समेत पुग्ने गरेको उनले बताए ।
उनका अनुसार एकपटकमा ४० देखि ५० हजारसम्म माला विदेश पठाउने व्यापारीले खरिद गर्ने गरेका छन् । भदौ र असोजसम्म नेपाली मखमली माला विदेश पुगिसक्ने गरेको उनको भनाइ छ । त्यसबाहेक काठमाडौंको कालीमाटी, इमाडोल, पोखरा तथा चितवन लगायत बजारमा समेत माला बिक्री हुने गरेको छ ।
मखमली फूलको बजार तिहारपछि पनि रहने भएकाले किसानलाई बिक्रीका लागि केही सहज हुने गरेको छ । तिहारपछि पनि बाँकी रहेका माला १० देखि १५ रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए ।
यस वर्ष सरकारले भारतीय फूल तथा माला आयातमा प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयले नेपाली किसानको बजार मूल्य निर्धारणमा प्रभाव पार्ने थापाको अपेक्षा छ ।
‘पोहोर भारतबाट फूल ल्याउन प्रतिबन्ध लगाइएको थियो । राम्रो मूल्य पाएका थियौँ । यसपालि पनि भारतबाट फूल ल्याउन बन्द गरियो भने नेपाली किसानले राम्रो भाउ पाउँछन् भन्ने आशा छ,’ उनले भने ।
त्यस्तै, राधिका थापाले पनि करिब १० वर्षदेखि मखमली फूलखेती गर्दै आएकी छन् । सुरुमा धानखेतका आलीमा फूल रोपेर खेती सुरु गरेकी उनले अहिले घरबारीमै फूल लगाउँदै आएकी छन् । फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसलाई निरन्तरता दिएको उनले बताइन् ।

राधिकाका अनुसार अहिले मखमली मालाको मूल्य प्रतिगोटा २५ रुपैयाँ छ । केही समयअघि २१ रुपैयाँमा बिक्री भइरहेको माला तिहार नजिकिँदै गर्दा क्रमशः महँगो हुँदै गएको उनको भनाइ छ ।
‘मैले फूलखेती गर्न थालेको करिब १० वर्ष भयो । सुरुमा धान रोपेको खेतका आलीमा लगाउँथ्यौँ । अहिले घरमै लगाउन थालेका छौँ । व्यापार राम्रो भएकाले यसलाई निरन्तरता दिएका हौँ । अहिले एउटा मालाको २५ रुपैयाँ दिइरहेका छन् । तिहार नजिकिँदै जाँदा मूल्य अझै बढ्छ भन्ने आशा छ,’ उनले भनिन् ।
राधिकाका अनुसार मखमली माला काठमाडौंमा मात्रै सीमित छैन । साउन–भदौदेखि नै व्यापारीले माला संकलन गरेर अस्ट्रेलिया, जापान र अमेरिकालगायत देशमा पठाउने गरेका छन् । विदेशमा रहेका नेपाली समुदायले समेत मखमली मालाको माग गर्ने भएकाले यसको बजार विस्तार भएको उनको भनाइ छ ।
उनले उत्पादन गरेको माला कालीमाटी, इमाडोल, पोखरा र चितवनलगायत बजारमा पनि पुग्ने गरेको छ । फूलको उत्पादन र बिक्रीको परिमाणअनुसार आम्दानी फरक पर्ने भए पनि यस वर्ष उनले मखमली फूलखेतीबाट ७० देखि ८० हजार रुपैयाँसम्म आम्दानी गरेको बताइन् ।

उनका अनुसार सयपत्री फूलको बिक्री भने मुख्यतः तिहार लक्षित हुने गरेको छ । कुकुर तिहारदेखि नै सयपत्री फूलको माग बढ्ने र व्यापारीले अर्डर गर्न थाल्ने गर्छन् । मखमली माला भने तिहारअघि नै विदेश पठाउने तथा तिहारपछि पनि बिक्री गर्न सकिने भएकाले यसको बजार तुलनात्मक रूपमा लामो समयसम्म रहने गरेको उनले बताइन् ।
सानो क्षेत्रफलबाट सुरु भएको फूलखेती अहिले किसानका लागि आम्दानीको माध्यम बनेको छ । विदेशमा समेत नेपाली मखमली मालाको माग बढ्दै जानुले फूलखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने सम्भावना देखाएको छ । तर उत्पादनमा मौसमको प्रभाव, रोगको प्रकोप र आयातित फूलसँगको प्रतिस्पर्धा किसानका लागि चुनौतीका रूपमा रहेका छन् ।













प्रतिक्रिया