-कृष्ण पौडेल
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ६ ले वडामा कार्यरत १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउने र स्वयंसेविकाहरूलाई आफ्नो कार्यक्षेत्रमा पुगेर सेवा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयले आज १० वटा साइकल वितरण गरेको हो ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले गाउँघरमा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्था बुझ्ने, बालबालिकाको स्वास्थ्य तथा पोषणसम्बन्धी जानकारी दिने, खोप कार्यक्रमबारे जनचेतना फैलाउने, परिवार नियोजन, सरसफाइ तथा अन्य स्वास्थ्यसम्बन्धी विषयमा नागरिकलाई सचेत गराउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
सीमित स्रोतसाधनकाबीच समुदायमा निरन्तर खटिँदै आएका स्वयंसेविकालाई साइकल उपलब्ध गराइएपछि उनीहरूको कार्यसम्पादनमा सहजता आउने अपेक्षा गरिएको छ।
साइकल वितरण कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुर कलवारले महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य सुधारका महत्वपूर्ण आधार रहेको बताए । उनले घरदैलोमै पुगेर नागरिकलाई स्वास्थ्य सेवासँग जोड्ने तथा स्वास्थ्यसम्बन्धी समस्या र जोखिमबारे जानकारी गराउने स्वयंसेविकाहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।
कामलाई थप सहज र प्रभावकारी बनाउन साइकल वितरण गरिएको बताउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले महिला स्वास्थ्य स्वयंसेविकाहरू सरकारी स्वास्थ्य सेवा र समुदायबीच पुलको काम गर्ने महत्वपूर्ण जनशक्ति रहेको बताए । उनले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको भन्दै उनीहरूलाई आवश्यक साधनस्रोत उपलब्ध गराउन सके स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी हुने धारणा व्यक्त गरेका छन् ।
साइकल वितरणले स्वयंसेविकाहरूलाई कार्यक्षेत्रमा आवतजावत गर्न सहज बनाउनुका साथै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सूचना र सेवा पुर्याउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । वडा सचिव बालबहादुर थापाले वडाभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूले लामो समयदेखि समुदायमा रहेर स्वास्थ्यसम्बन्धी विभिन्न गतिविधिमा महत्वपूर्ण योगदान दिँदै आएको बताए ।
स्वयंसेविकाहरूले कार्यक्षेत्रमा पुग्दा भोग्नुपर्ने आवतजावतको कठिनाइ कम गर्ने उद्देश्यले साइकल वितरण गरिएको उनले जानकारी दिएका छन् । साइकलको प्रयोगले गाउँका विभिन्न बस्ती तथा टोलमा पुगेर स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न र सेवाग्राहीसँग नियमित सम्पर्कमा रहन सहज हुने उनको भनाइ छ ।












प्रतिक्रिया