२० कार्तिक २०८३, शुक्रबार

तत्काल राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन काँग्रेसको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र राज्यका निकायसँग जोडिएका पछिल्ला विवादबारे छलफल गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ।

कांग्रेसका चार सांसदले शुक्रबार समिति सभापति हरि ढकाललाई पत्र पठाउँदै आवश्यक छानबिन र सरकारसँग जवाफ माग्न बैठक बस्नुपर्ने बताएका हुन्। निवेदन दिनेमा संसदीय दलका नेता भीष्मराज आङदेम्बेसहित अर्जुननरसिंह केसी, निश्कल राई र रेखाकुमारी यादव छन्।

कांग्रेसले इनाम सापकोटा प्रकरणमा राज्य संयन्त्रको सम्भावित दुरुपयोग, प्रहरी हिरासतमा रहेका व्यक्तिको फोन तथा अडिओ अनधिकृत व्यक्तिको पहुँचमा पुगेको विषय र अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

त्यस्तै, प्रहरी महानिरीक्षक परिवर्तनको कारण, प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकारसँग जोडिएका सापकोटाका दाबी तथा समाचारकक्षमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे पनि समितिमा छलफल हुनुपर्ने कांग्रेसको माग छ।

यी विषयमा जवाफ लिन प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई समितिमा बोलाउन कांग्रेस सांसदहरूले आग्रह गरेका छन्। यसअघि नेकपा र राप्रपाका सांसदहरूले पनि समिति बैठक बोलाउन माग गरेका थिए।