काठमाडौं । पर्यटक भिसामा नेपाल आएर भिसाको सर्तविपरीत गतिविधि गरेको आरोपमा १० विदेशी नागरिकलाई अध्यागमन विभागले देशबाट निष्कासन गरेको छ। उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना गर्नुका साथै तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरिएको विभागले जनाएको छ।
विभागका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनीहरूमाथि क्रिश्चियन धर्म प्रचार गरेको आरोप लागेको थियो।
निष्कासित हुनेमा अमेरिकाका पाँच, क्यानडाका तीन र ब्राजिलका दुई नागरिक छन्। उनीहरूमध्ये एक जना नाबालकसमेत रहेको र उनलाई अभिभावकसँगै नेपालबाट पठाउने निर्णय भएको विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अध्यागमन विभागले पर्यटक भिसाको उद्देश्यविपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई अध्यागमन कानुनअनुसार कारबाही गरेको जनाएको छ। उनीहरू गत कात्तिक ११ गते पक्राउ परेका थिए। विभागका अनुसार विदेशी नागरिकहरू सन् २०२६ अक्टोबर २२ र २३ मा पर्यटक भिसामा नेपाल आएका थिए।












प्रतिक्रिया