रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिकै कोइला लोड ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ ५ः३५ बजे हेटौंडा–पथलैया सडकखण्डमा वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौंडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती निवासी २१ वर्षीय नन्दकिशोर दास र पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी २१ वर्षीय निराजन यादव घाइते भएका थिए ।
दासको दुवै हात, दुवै खुट्टा तथा मुखमा चोट लागेको थियो भने यादवको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई उपचारका लागि साँझ ६ः३० बजे मकवानपुरस्थित जिल्ला अस्पताल हेटौंडा पुर्याइएको थियो । उपचारका क्रममा साँझ ६ः३९ बजे चिकित्सकले ईसीजी परीक्षण गर्दा पछाडि सवार निराजन यादवलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक दासको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट वरिष्ठ प्रहरी नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ कमाने निवासी ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।












प्रतिक्रिया