काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य दुई पात्र फिचर्ड छन् ।
विजय बराल र अञ्जना बराइली रहेको पोस्टरमा दुवैजना रोइरहेका छन् । विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन् । विजयका आँखामा पनि आँसु छ ।
गाउँले परिवेशको जनजीवनमा रहेका पात्र कुनै मेला वा महोत्सवमा गएको पोस्टरबाट अनुमान लगाउन सकिन्छ । धोएर सफा पारिएका लुगा लगाएर चिटिक्क परेको जोडी छ । बुलाकी, नौगेडी र माडवारी लगाएकी अञ्जनाको पहिरनले उनी मध्यमवर्गीय परिवारकी छोरी/बुहारी रहेको देखाउँछ ।
पृष्ठभूमिमा देखिएको मन्दिर र त्यसमा लागेको भीडले जात्रामा सहभागी हुने गएको जोडी कुनै समस्यामा फसेको जस्तो देखिन्छ । बिग्रिएको अञ्जनाको कपालले उनीमाथि जबरजस्तको प्रयास भएको अनुमान लगाउन सकिन्छ ।
सिनेमाको शीर्षक अनुसारको पोस्टरको कलरले सिनेमाको मुड बताउने प्रयास गरेको छ ।
‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरुको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।
चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।
सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह-निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरेको क्रिएटिभ निर्देशक रहेका छन् । यस चलचित्रमा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।
मंसिर १८ गते रिलिज हुने चलचित्रको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । विग मुभिज थिएटर पार्टनरका रूपमा रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ ।












प्रतिक्रिया