१ कार्तिक २०८३, शनिबार

यातायात कार्यालयमा अख्तियार पसेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhtiyar

काठमाडौं, ३ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा कारबाही गरेपछि सेवा प्रवाहमा सुधार आउनाका साथै सेवाग्राही दलालको चङ्गुलबाट मुक्त भएका छन् ।

विभागका कर्मचारी र दलालको मिलेमतोमा सावरी चालक अनुमतिपत्र नवीकरण, नयाँ बनाउने, सडक अनुमति, सवारी दर्तालगायत काममा व्यापक अनियमितता भएको पाएपछि आयोगले गत जेठ ४ गते कारबाही गरेको हो ।

विगतमा विभागका चोटाकोठा चाहरेर फाइलका ढड्डा निकाल्ने अनधिकृत व्यक्ति कार्यालय परिसरबाट कुलेलम ठोकेका छन् भने भनसुन र मोलमोलाहिजा गर्ने प्रवृत्तिको पनि अन्त्य भएको पाइएको छ ।

सवारी चालक अनुमतिपत्र बनाउन सोमबार विभाग पुगेका खोटाङका हरिबहादुर थापा दलालको खोजीमा भौंतारिरहेका भेटिए । उनले विभाग बाहिर नाङ्गलोमा चुरोट, खैनी, गुट्खा, पानी, हुलाक टिकट, चाउचाउ बेचिरहेकी युवतीलाई मुख फोरेरै सोध े– बहिनी लाइसेन्सका लागि फाराम भरिदिने दलाल छैनन् ?’

प्रश्न भूइँमा खस्न नपाउँदै उनले जवाफ दिइन् – अख्तियार पसेपछि अहिले यहाँ कोही पनि छैन, आफैं भर्नोस् फाराम ।

दश रुपैयाँको हुलाक टिकटलाई रु १५ मा बेचिरहेकी ती युवतीले रु ५ मुनाफा लिएको हाकाहाकी बताइन् । ‘हुलाक जाऊ, टिकट ल्याऊ, दिनभर घाममा बस, यत्रो दुःख गरेपछि त्यति नाफा लिँदा पाप लाग्दैन ।’ – अख्तियारको कुनै डर नभएको बताउँदै थापालाई उनले रु १५ मा दुईवटा टिकट पनि बेचिन् ।

सवारी चालक अनुमतिपत्रका लागि विभागको दुई नम्बर भवनको माथिल्लो तहमा परीक्षा भइरहेको थियो जहाँ पोशाक लगाएका ट्राफिक प्रहरीका जवान केही परीक्षार्थीलाई पालैपालो उत्तर सिकाइरहेका थिए । विभागका कर्मचारी नदेखेझैं गरी निरीक्षकको भूमिका निर्वाह गरिरहेका थिए ।

सेवाग्राही पङ्तिबद्ध भई काम लिइरहेका थिए भने कर्मचारीहरू आफ्नो अख्तियारीअनुसारको कार्यसम्पादन झर्को नमानी गरिरहेका भेटिए । विगतमा ठेलमठेल, दलालले सेवाग्राहीलाई यति रकममा निमेषभरमै काम फत्ते गरिदिने वाचाजस्ता सुशासनविरुद्धका गतिविधि पूर्णरुपमा नभए पनि धेरै हदसम्म बन्द भएका छन् ।

एकजना सेवाग्राहीले एकघन्टामा सवारी चालक अनुमतिपत्र नवीकरण गरेर गन्तव्यतर्फ लाग्नुअघि विभाग सुध्रेकामा आयोगप्रति आभार प्रकट गर्दैै सरकारी सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउन नियमित अनुगमन पनि आयोगले नै गर्नुपर्ने बताए ।

आयोगले जेठ ४ गते अख्तियारले अनियमितताको अभियोगमा निमित्त कार्यालय प्रमुख रामदत्त भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, लेखा अधिकृत तीर्थराज गौतम तथा कार्यालय बाहिर फोटोकपी, हुलाक टिकट, ‘सिमकार्ड’ बेच्दै आएका टेकबहादुर महर्जन, विष्णुबहादुर थापा, अनिलकुमार पाण्डेका साथै लेखापढी गर्ने विक्रम बिसी, विष्णुबहादुर थिङ र देवराज लामिछानेलाई पक्राउ गरेको थियो ।

आयोगको विशेष टोलीले सोही दिन सेवाग्राहीबाट कागजात सङ्कलन गर्ने सरकारी दस्तावेजमा मिलाउनेलगायत अनधिकृत काममा संलग्न भएको अभियोगमा सानुकाजी देशार र विष्णु बस्नेतलाई पनि नियन्त्रणमा लिएको थियो ।