काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई आधार बनाएर अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकले विभिन्न बेटिङ साइटमार्फत झण्डै ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन्। काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएलका खेलहरू सञ्चालन भइरहेका बेला प्रतियोगितालाई लक्षित गरी अनलाइन माध्यमबाट सट्टेबाजी भइरहेको सूचना प्रहरीसमक्ष पुगेको थियो। सोही सूचनाका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले सिन्हालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले विभिन्न अनलाइन बेटिङ प्लेटफर्म प्रयोग गरी ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।
पक्राउ परेका सिन्हालाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।












प्रतिक्रिया