काठमाडौँ, ६ भदौ । नयाँ संविधान बन्ने क्रममा भइरहेको बन्द, हडताल, धर्नामा भएको जनधनको क्षति, मानवअधिकार हनन्लगायतका विषयमा राष्ट्रिय मानव अधिकार आयोग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताबीच आज छलफल भएको छ ।
आयोगले मधेसी मोर्चाद्वारा देशका विभिन्न स्थानमा भइरहेको आन्दोलनका विषयमा मोर्चाका नेतासँग छलफल गरेको हो । आयोगका अध्यक्ष अनुपराज शर्माले आन्दोलनको लक्ष्यको बारेमा मधेसी मोर्चाका नेतासँग जिज्ञासा राख्दै आन्दोलनलाई थप संयमित र सद्भावपूर्ण बनाउन आग्रह गर्नुभयो ।
आन्दोलनको बारेमा आयोगले प्रभावकारी रुपमा स्थलगत अनुगमन गरिरहेको बताउँदै उहाँले आगामी दिनमा समेत अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले शान्तिपूर्णरुपमा भइरहेको आन्दोलनमा सरकारले निर्ममतापूर्वक दमन गरेको आरोप लगाउँदै लोकतान्त्रिक आन्दोलनमा मधेसीलगायतको ऐक्यबद्धता आवश्यक भएपनि मधेस आन्दोलनमा मधेसीहरु एक्लै रहेको अनुभूति भएको बताउनुभयो । उहाँले राज्यले सहिद घोषणा गरिसकेकाको परिवारप्रति उचित सम्मान गर्न पनि आग्रह गर्नुभयो ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बल र बन्दुकको प्रयोग राज्यले संयमतापूर्वक गर्नुपर्ने भन्दै आफूहरुको आन्दोलन शान्तिपूर्ण रहने पनि बताउनुभयो ।
आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आयोगले विभिन्न जिल्लामा गरेको अनुगमनका बारेमा जानकारी गराउनुभएको थियो । रासस















प्रतिक्रिया