काठमाडौँ, ६ भदौ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरेको आरोप लागेका ‘भगवान्’ भन्ने सन्जय स्माइली मगरलाई सोमबार बयानका लागि पेस गर्न ललितपुर जिल्ला अदालतले प्रहरीलाई आज आदेश दिएको छ ।
ललितपुर जिल्ला अदालतका श्रेस्तेदार बाबुराम दाहालका अनुसार आइतबार मगरको बयान हुन समय नभएका कारण सोमबार पेस गर्ने गरी अदालतले प्रहरी प्रशासनकै जिम्मा लगाएर पठाएको जानकारी दिनुभयो ।
सो अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बयान लिन नभ्याएका कारण स्माइलीलाई सोमबार ल्याउने गरी लिखित आदेश दिएको श्रेस्तेदार दाहालले बताउनुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालय, ललितपुरले भने यसअघि स्माइलीलगायतविरुद्ध सर्वस्वसहित जन्मकैद गर्न माग गर्दै सो अदालतमा मुद्दा दायर गरिसकेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश बमको हत्या गरे लगत्तै स्माइली रोजगारीका लागि साउदी अरब गएका थिए । प्रहरीले साउदी अरबबाट आइतबार नेपाल ल्याई स्माइलीलाई सार्वजनिक गरेको थियो ।
इन्टरपोलको सहयोगमा साउदीमा पक्राउ परेका स्माइलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले नयाँ दिल्ली हुँदै आइतबार विहान ९ बजे एयर इन्डियाको विमानबाट काठमाडौँ ल्याएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश बमको २०६९ साल जेठ १८ गते ललितपुरको युएन पार्कनजिक गोलीहानी हत्या गरिएको थियो । स्माइलीलाई बममाथि गोली हानेको आरोप लगाइएको छ ।
उनीलगायतमाथि चुरे भावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापाको योजनामा बमको हत्या गरेको आरोप लाग्दै आएको छ । रासस















प्रतिक्रिया