१७ कार्तिक २०८३, मंगलबार

हेलिकप्टर दुर्घटना : मृतक पर्यटकको पहिचान खुल्यो, घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको तामाङले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी मेडिसिटी अस्पताल पुर्‍याइएको उनले बताए ।

प्रहरीका अनुसार पटेलसँग भारतीय राहदानी भए पनि उनी न्युजिल्यान्डका नागरिक हुन् ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट सकुशल रहेको प्रहरी निरीक्षक तामाङले बताए ।

दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।