वीरगन्ज, ६ भदौ । पर्सा जिल्लाबाट राहदानी प्राप्त गर्नेहरुमध्ये महिलाको सङ्ख्या उल्लेख्य रहेकोे छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, आव २०७०/७१ को तुलनामा आव २०७१/७२ मा राहदानी प्राप्त गर्ने महिलाको सङ्ख्यामा १८ दशमलव २९ प्रतिशतले वृद्धि भएको हो । आव २०७०/७१ मा कार्यालयबाट ८४२ महिलाले राहदानी लिएका थिए भने आव २०७७१/७२ मा ९९६ महिलाले राहदानी लिएका थिए ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत अनुज भण्डारीका अनुसार आव २०७०/७१ मा १२ हजार २३४ पुरुषले राहदानी लिएकामा आव २०७१/७२ मा ११ हजार ४७२ पुरुषले राहदानी लिएका छन् । यो अघिल्लो आवको तुलनामा ६ दशमलव २२ प्रतिशतले कमी हो ।
राहदानी प्राप्त गर्नेहरुमध्ये ९५ प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेका सूचना अधिकृत भण्डारीले बताउनुभयो ।
यसैगरी जिल्ला ट्राफिक कार्यालयले गत आवमा रु एक करोड ४६ लाख ९८ हजार राजस्व असुली गरेको छ । अघिल्लो आव २०७०÷७१ को तुलनामा यो २६७ प्रतिशत बढी हो । अघिल्लो आवमा कार्यालयले रु ५७ लाखमात्र राजस्व सङ्कलन गरेको थियो ।
जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका चोरीको वाहन र ट्राफिक नियम विपरीत सवारी साधन चलाउने सवारी चालकलाई कारबाहीस्वरुप तिराइएको जरिवानाबाट उक्त राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले बताउनुभयो ।
गत आवमा ट्राफिक नियम उल्लङ्घन गरेबापत ३१ हजार ३०७ वटा सवारी साधनलाई समातेर जरिवाना गरीे उक्त राजस्व सङ्कलन गरिएको हो । रासस















प्रतिक्रिया