१ कार्तिक २०८३, शनिबार

विद्युत् कटौतीका कारण प्लास्टिक उद्योग मारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Light-पथरी (मोरङ), ६ भदौ । विद्युत् कटौतीका कारण मोरङ–सुनसरी आद्योगिक करिडोर क्षेत्रका प्लास्टिक उद्योगलाई समस्या भएको छ ।

अन्तर्राष्ट्रिय मन्दी र विद्युत् कटौतीका कारण प्लास्टिक उद्योगलाई समस्या परेको हो । उत्पादन भइरहेको अवस्थामा विद्युत् अवरुद्ध हुँदा सबै कच्चा पदार्थ नष्ट हुने गरेको छ ।

प्लास्ट नेपाल फाउन्डेसनका पूर्वाञ्चल संयोजक कमलकिशोर राठीका अनुसार साउदी अरब, सिङ्गापुरबाट आयात गरिएका प्लास्टिकका दाना पेल्दै गरेको अवस्थामा विद्युत् अवरुद्ध भएर फाल्नुपर्ने अवस्था आएको छ ।

उद्योग सङ्गठन मोरङका सदस्य तथा बाग्मती प्लास्टिकका सञ्चालक नन्दकिशोर राठीले अन्तर्राष्ट्रिय बजारमा सो कच्चा पदार्थ प्रतिटन एक हजार डलर तिरेर ल्याइने गरेको बताउनुभयो । उहाँका अनुसार त्यति महँगो मूल्यमा ल्याइएको कच्चा पदार्थ पेल्दै गरेको अवस्थामा बिग्रिएर फाल्नुपर्ने स्थिति आएको छ ।

शिवम् प्लास्टिक उद्योगका सञ्चालक बासु गोल्यानले विद्युत् भार कटौतीका कारण आफूहरुले ३० देखि ५० प्रतिशत उत्पादनमा कटौती गरेको बताउनुभयो । विद्युत् कटौती नघटे दुई महिनाभित्र प्लास्टिक उद्योग बन्द हुने उहाँको भनाइ छ । करिडोर क्षेत्रमा एक दर्जनको हाराहारीमा प्लास्टिक उद्योग सञ्चालित छन् ।

प्लास्टिक उद्योगले त्रिपाल, झोला, बोरा, कुर्सी, टेबुल, पाइप, ट्याङ्की, भाँडाकुँडा, चप्पल, जुत्ता, प्याकेजिङका सामग्री निर्माण गर्ने गरेका छन् । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा दैनिक आठ घन्टा विद्युत् कटौती हुँदै आएको छ ।

भोल्टेज तलमाथि हुँदा विद्युत् महसुलसमेत बढी आउने गरेको उद्योग सङ्गठनले जनाएको छ । उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालका अनुसार विद्युत् अनियमित हुँदा सबै उद्योगलाई समस्या भइरहेको छ । रासस