काठमाडौं । शुद्ध चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्यूरोडमा पनि आउटलेट सञ्चालन गर्ने भएको छ ।
हालसम्म ज्ञानेश्वरबाट मात्र चाँदीका बार र सिक्काको कारोबार हुँदै आएकोमा आइतबार न्यूरोडमा आउटलेट उद्घाटन गर्ने तयारी पूरा भएको कम्पनी सञ्चालक भीष्म गौतमले जानकारी दिए ।
‘न्यूरोड मलको पहिलो तल्लामा आउटलेट तयार भइसकेको छ,’ सञ्चालक गौतमले भने, ‘कात्तिक १५ गते आइतबार उद्घाटन गर्दै छौँ ।’
न्यूरोड आउटलेट कम्पनीको व्यवसाय विस्तारको एक हिस्सा रहेको पनि उनले बताए ।
‘यसबाट ग्राहकलाई पनि सहज हुनेछ,’ गौतमले भने । कम्पनीले भविष्यमा देशका अन्य प्रमुख सहरमा पनि आउटलेट विस्तार गर्ने उनले जानकारी दिए ।
न्यूरोड आउटलेटमा ग्राहकले चाँदीका बार र सिक्का प्रत्यक्ष अवलोकन गरेर खरिद गर्न सक्नेछन् । एपमार्फत खरिद गरेको चाँदी पनि उक्त आउटलेटबाट संकलन गर्न सकिने सञ्चालक गौतमले जानकारी दिए ।
कम्पनीले चाँदी कारोबारलाई सहज र पारदर्शी बनाउन घटस्थापनाको दिन आफ्नो मोबाइल एप ‘एचबीसी एप’ सार्वजनिक गरेको थियो । एपमार्फत ग्राहकले आफ्नो अनुकूलता अनुसार चाँदीका सिक्का तथा बार खरिद गर्न सक्छन् ।
ग्राहकले एपमा खाता खोलेर ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि चाँदीको दैनिक मूल्य हेर्न र खरिदको लक्ष्य तोक्न सक्छन् । एपमार्फत १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिनेछ ।
कम्पनीले एपका ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध गराउने घोषणा पनि गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र हिमालयन बुलियन कम्पनी (एचबीसी) बीचको सहकार्यमा उपलब्ध हुने उक्त सुविधा बीमालेखका सर्त र प्रावधानअनुसार लागू हुनेछ ।
दुर्घटना बीमा प्रयोजनका लागि ग्राहकलाई तीन श्रेणीमा बाँडिएको छ । एपमार्फत चाँदी खरिद गरेको पटकको आधारमा ग्राहकलाई स्ट्यान्डर्ड, गोल्डेन र प्लाटिनम श्रेणीमा राखेर क्रमशः स्ट्यान्डर्डलाई १ लाख रुपैयाँ गोल्डेनलाई ५ लाख रुपैयाँ र प्लाटिनम ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ ।
कम्पनीका अनुसार एचबीसी एप भौतिक चाँदी खरिद गर्ने माध्यम हो । एपमार्फत बुक गरेको चाँदी त्यसको सम्पूर्ण रकम भुक्तानीपछि ग्राहकले कम्पनीको आउटलेटबाट संकलन गर्न सक्छन् । कम्पनीबाट खरिद गरेको चाँदी तीन दिनपछि कम्पनीले प्रकाशित गरेको पुनः खरिद मूल्यमा एचबीसीमै बिक्री गर्न सकिनेछ ।
कम्पनीबाट उत्पादित चाँदीका सिक्का र बारहरु प्रमाणिकताको प्रमाणपत्र र बिलसहित उपलब्ध हुन्छन्, जसले चाँदीको ९९.९९ प्रतिशत शुद्धता र गुणस्तरको गायरेन्टी गर्छ ।
कम्पनीले दुबई र हङकङबाट चाँदीको ग्रान्युल्स आयात गर्दै आएको छ ।












प्रतिक्रिया