–कृष्ण पौडेल
कपिलवस्तु । नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसी खत्रीले पार्टी विगतका कमजोरी सच्याउँदै नयाँ सोच, ऊर्जा र एकताका साथ अघि बढेको बताएका छन् । उनले अब नेपाली कांग्रेसले विगतका गल्ती दोहोर्याउने छुट नरहेको स्पष्ट पारेका छन् ।
खत्रीले अहिलेको कांग्रेस पहिलेभन्दा सुध्रिएको र आफूहरू पनि विगतका कमजोरीबाट पाठ सिकेर अघि बढेको बताए । विगतमा पार्टीभित्र देखिएका गुटबन्दी, असमझदारी र आपसी मतभेदलाई बिर्सेर सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ छ ।
उनले पार्टीलाई बलियो बनाउन सबै तहका नेता तथा कार्यकर्ताले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै अब संगठन सुधार र जनताको विश्वास जित्ने अभियानमा केन्द्रित हुनुपर्ने बताए ।
खत्रीले कपिलवस्तु लगायत देशका सबै जिल्लामा कांग्रेसको चारतारे झण्डा फर्फराउने दाबी समेत गरे । त्यसका लागि पार्टीभित्र एकता, अनुशासन र सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ ।
उनले विगतका कमजोरीलाई आत्मसात् गर्दै नयाँ उत्साहका साथ अघि बढ्न सके कांग्रेसले आगामी दिनमा राम्रो राजनीतिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।












प्रतिक्रिया