१४ कार्तिक २०८३, शनिबार

इनम सापकोटा बालेनको निर्वाचन क्षेत्रमा सर्वेक्षणमा खटिएका व्यक्ति हुन् : सूर्य थापा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसांसद सूर्य थापाले प्रहरी हिरासतमा रहेका भनिएका विचौलिया इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा–५ मा सर्वेक्षणका लागि परिचालित व्यक्ति रहेको दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले सापकोटा प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्रमा सर्वेक्षण गर्न खटिएको व्यक्ति भएको जानकारी आफूलाई रहेको उल्लेख गरे ।

उनले प्रश्न गरे, ‘इनम सापकोटा झापामा प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्रमा सर्वेका लागि परिचालित भएको व्यक्ति भन्ने जानकारी तपाईंहरूको जानकारीमा छ कि छैन ?’

थापाले प्रधानमन्त्रीसँग कुनै सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई प्रभावमा पार्न सक्ने विषयमा प्रश्न उठाउँदै सापकोटा प्रधानमन्त्री शाहसँग सम्बन्धित विचौलिया भएको आरोप समेत लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीसँग सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई हप्काउन सक्छ ? सापकोटा विचौलिया हुन् भने बालेनकै हुन् ।’

पत्रकार पक्राउ प्रकरणबारे टिप्पणी गर्दै थापाले शुक्रबारको घटनाले नेपालको मिडियामाथि जहाँनिया राणा शासन, पञ्चायत र निरंकुश राजतन्त्रकालमा समेत नभएको प्रकृतिको व्यवहार भएको आरोप लगाए । पत्रकारले आफ्नो समाचार स्रोतको संरक्षण गर्न पाउने व्यवस्था संविधानमै स्पष्ट रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यम र पत्रकारमाथि भएको व्यवहारप्रति आपत्ति जनाए ।

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसहितको संलग्नता रहेको आरोप पनि थापाले लगाए ।

थापाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले वर्तमान संसद्लाई पाँच वर्षसम्म टिकाउन सक्नेमा समेत आशंका व्यक्त गरे ।

उनले भने, ‘यो पार्लियामेन्ट पनि पाँच वर्ष टिक्ने देखिएन । त्यसैले आफ्नो छटपटी उहाँहरूले कहिले मिडियातिर, कहिले कता देखाउनुहुन्छ ।’