९ कार्तिक २०८३, सोमबार

आफूलाई मधेसका मसिहा ठान्नेहरूले सामाजिक सद्भाव खलबल्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-ameresh-rajendraकाठमाडौँ, ६ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोल्ने सबै सांसदले आन्दोलनका नाममा मुलुकको सामाजिक सद्भाव खल्बल्याउने प्रयास भएको भन्दै कसैले पनि त्यसो गर्न नपाउने धारणा राख्नु भयो ।

नेपाली काँग्रेसका अब्दुलरज्जाक गद्दीले रुपन्देहीका सर्वसाधारणलाई आन्दोलनमा जानैपर्ने र नजानेले रु एक हजार जरिवाना तिर्नुपर्ने उर्दी आन्दोलनकारीले गरेका भन्दै त्यसको विरोध गर्नुभयो ।

आन्दोलनका नाममा मधेसी र पहाडीबीच फाटो पार्ने प्रयास हुनुहुँदैन भन्दै उहाँले द्वन्द्वकालमा समेत शान्त रहेको रुपन्देहीमा अहिले साम्प्रदायिक सद्भाव खलबल्याउने प्रयास भएको बताउनुभयो ।

नेकपा (एमाले)की मदनकुमारी साहले टीकापुरमा केही दिन अघि तराईका नेताले गरेको भाषणले त्यहाँको सामाजिक सद्भाव खलबलिएको, सर्वसाधारण त्रसित भएका र त्यसले जातीयता र साम्प्रदायिकता भड्काउन खोजेको आरोप लगाउँदै कैलालीवासीलाई सामाजिक सद्भाव बिग्रने कुनै पनि काम नगर्न आग्रह गर्नुभयो ।

एनेकपा (माओवादी) का गणेशमान पुनले आदिवासी जनजाति महासङ्घले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाउँदै आजको आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न माग गर्नुभयो ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का डा सुवोधकुमार पोखरेलले सामाजिक सद्भाव भड्काउने काम हुन नहुने र आफूलाई मधेसका मसिहा ठान्नेहरूले सप्तरी, सिरहा र सुनसरीमा पुस्तौँदेखि बस्दै आएका पहाडीमूलका अल्पसङ्ख्यक जनतालाई त्रसित र भयभित बनाएको गुनासो गर्नुभयो ।

मधेसी जनअधिकार फोरम नेपालका डा शिवजी यादवले भैरहवालगायत देशका विभिन्न भागमा सामाजिक सद्भाव खलबल्याउने प्रयास भएको भन्दै त्यसको विरोध गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले सङ्घीयताले देशमा अशान्तिको बीउ रोपेको भन्दै सङ्घीयताका नाममा बागलुङलाई सीमा विभाजन गरिएकामा आपत्ति जनाउनुभयो ।

थरुहट तराई पार्टी नेपालका गङ्गा चौधरी (सत्गौवा)ले शान्तिपूर्ण आन्दोलनमा उत्रेका थारु जातिलाई उपेक्षा गरिएको तथा कैलाली र कञ्चनपुरमा सामाजिक सद्भाव खलबल्याउने प्रयास भएकामा आक्रोश व्यक्त गर्नुभयो ।

समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले जुम्लामा आन्दोलनका क्रममा गत साउन ३१ गते प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका हरिबहादुर कुँवरको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिँदै उनलाई सहिद घोषणा गरेर निजका परिवारलाई तत्काल क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभयो ।

सांसदहरू हरिचरण साह, राजेन्द्र अमात्य, सुरेन्द्र जयसवाल, डिल्ली चौधरी, अफिलाल उखेडा, रामहरि खतिवडाले जातीय विद्वेष फैलाउने अभिव्यक्ति कुनै पनि व्यक्ति वा नेताले दिन नहुनेमा जोड दिनुभयो । रासस