१४ कार्तिक २०८३, शनिबार

डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी भागे, भेरी नदी पार गरेर फरार

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–हेमन्त केसी

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका छन् ।

भेरी नदीको किनारमा रहेको कारागारबाट उनीहरू गएराति सुरुङ खनेर फरार भएका हुन् ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका छन् । फरार हुनेमा पुर्पक्षका लागि थुनामा रहेका दुई जना र कैद सजाय भोगिरहेका छ जना रहेका छन् ।

भेरी नदीको किनारमा रहेको कारागारबाट कैदीहरू सुरुङ खनेर भागेपछि सुरक्षा निकायले उनीहरूको खोजी कार्य सुरु गरेको छ ।

कारागार रहेको क्षेत्र र भेरी नदीको बीचमा पुल समेत रहेकाले फरार कैदीहरू कुन बाटो हुँदै बाहिरिए भन्ने विषयमा चासो बढेको छ ।

एकै पटक आठ जना कैदी फरार भएपछि जिल्लाको सुरक्षा निकायलाई उनीहरूको खोजी तथा नियन्त्रणमा चुनौती थपिएको छ ।

फरार कैदीहरू कहाँ पुगेका छन् भन्नेबारे अहिलेसम्म यकिन जानकारी प्राप्त भएको छैन ।

प्रमुख जिल्ला अधिकारी हमालले आठ जना कैदी फरार भएको पुष्टि गर्दै उनीहरूको खोजी भइरहेको जानकारी दिइन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

कारागारभित्र सुरुङ खन्ने क्रममा प्रयोग गरिएका सामग्री कसरी व्यवस्थापन गरियो, सुरुङ खन्ने गतिविधिबारे सुरक्षाकर्मीले किन थाहा पाएनन् र कैदीहरू कसरी कारागारबाट बाहिरिन सफल भए भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

कारागारमा १७ जना कैदी बन्दी रहेको अवस्थामा आठ जना एकैपटक फरार हुनुले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रहरीले फरार कैदीहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।