काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले अतिकम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति हुने निर्धारित समयतालिका थप गरेको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले अति कम विकसित राष्ट्रको सूचीबाट नोभेम्बर २०२६ मा हुने भनिएको नेपालको स्तरोन्नतिको निर्धारित समय तालिका ३ वर्ष अर्थात् नोभेम्बर २०२९ सम्म पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरे बमोजिम राष्ट्रसंघ महासभाबाट सर्वसम्मत रूपमा प्रस्ताव पारित भएको जानकारी दिए ।
यस निर्णयबाट नेपाललाई थप ३ वर्षको तयारी समय प्राप्त भएको हुनाले एलडिसीको सूचीबाट नेपालको स्तरोन्नति सहज र दिगो हुने विश्वास गरिएको उनले बताए ।
त्यस्तै, उनले आगामी ९ देखि २० नोभेम्बरसम्म टर्कीमा आयोजना हुने विश्व जलवायु सम्मेलन (कोप३१)मा नेपालको उच्चस्तरीय सहभागिता हुनेगरी अहिलेदेखि नै तयारी कार्य अगाडि बढाइएको जानकारी दिए ।
कोपमा नेपाल र गणतन्त्र कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि ’फ्रेमवर्क एग्रिमेन्ट अन कोअपरेसन अन क्लाइमेट चेन्ज’मा हस्ताक्षर हुनेगरी गृहकार्य भइरहेको उनले बताए ।
त्यस्तै, उनले सम्मेलनको साइडलाइनमा नेपाल र अन्य पर्वतीय मुलुकहरूको सहकार्यमा जलवायु परिवर्तन र पर्वतीय मुद्दाहरूबारे एक विशेष कार्यक्रम आयोजना गर्ने तयारी पनि गरिएको जानकारी दिए ।
प्रवक्ता पौडेलले दुवै पक्षलाई अनुकूल हुने गरी प्रधानमन्त्रीको भारत भ्रमणको आवश्यक तयारी भइरहेको भए पनि भ्रमणको मिति भने अझै तय नभएको उल्लेख गरे ।












प्रतिक्रिया