१३ कार्तिक २०८३, शुक्रबार

उदयपुरको वीरेन्द्र बजारदेखि धाप्लाङ जोड्ने सडक कालोपत्रे हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ वीरेन्द्र बजारदेखि बोपुङ, कम्पुघाट र बाजगरा हुँदै त्रियुगा नगरपालिका–१४ धाप्लाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ ।

यस सडकले उदयपुरको पुरानो बजार बेल्टार क्षेत्रलाई खोटाङ जिल्लासँग सिधा सडक सञ्जालमा जोड्नुका साथै स्थानीय व्यापार, पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बेल्टार बसाहा उद्योग वाणिज्य संघले संघीय सांसद पारसमणि गेलालमार्फत उक्त सडक निर्माणको माग अघि सारेको थियो । सोही मागका आधारमा सडक निर्माण प्रक्रिया अगाडि बढाइएको सांसद गेलालले बताए ।

सडक निर्माणको तयारीका क्रममा गेलालसहित पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय, इटहरी, सुनसरीका प्रमुख प्रकाश चौधरी, सूचना अधिकारी धिर फडेरा र इन्जिनियर दीपेन्द्रकुमार शाह, उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द थापा, महासचिव अनिल पौडेल, चौदण्डीगढी नगरपालिकाका पूर्वनगर प्रमुख खगेन्द्र राई लगायतको टोलीले सडकको स्थलगत अवलोकन गरेको छ ।

स्थलगत अवलोकनका क्रममा सांसद गेलालले यस सडकले उदयपुरको पुरानो बजार क्षेत्रलाई खोटाङसँग सिधा यातायात सञ्जालमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रकाश चौधरीले सडक निर्माणलाई अगाडि बढाउन आवश्यक प्रक्रिया अघि बढाइने बताए । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने तथा ठेक्का प्रक्रिया अगाडि बढाउने काम हुने उनले बताए ।

सडकलाई बहुवर्षीय योजनामा रूपान्तरण गरी निर्माण कार्यलाई निरन्तरता दिने तयारी गरिएको आयोजना कार्यालयले जनाएको छ ।

सडक कालोपत्रे भएपछि वीरेन्द्र बजार हुँदै धाप्लाङसम्मको यातायात सहज हुने र उदयपुर तथा खोटाङबीचको आवागमनमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।