काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद र आर्थिक अनियमितताको विषयले नयाँ मोड लिएको छ। बहुमत कार्यसमिति सदस्यको उपस्थितिमा शुक्रबार बसेको बैठकले प्रहरी अनुसन्धानमा परेका अध्यक्षसहित चार पदाधिकारीसँग घटनाबारे लिखित जवाफ माग्ने निर्णय गरेको छ।
वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई लिखित विवरण उपलब्ध गराउन भनेको हो। एन्फाको आर्थिक कारोबारमा अनियमितता गरेको आरोपमा अनुसन्धान अघि बढेपछि उनीहरूलाई सीआईबीले मुद्दा चलाएको थियो। चारै जना अदालतबाट धरौटीमा छुटेका छन्। नेम्वाङ र राई पाँच–पाँच लाख, जोशी १५ लाख तथा पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
बैठकले अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले एन्फामाथि लगाएको निलम्बन हटाउने पहलका लागि उपाध्यक्ष विराटजंग शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि बनाएको छ। समितिमा टीका लामा, मनिष जोशी, दीपक खतिवडा र कुमार केसी सदस्य छन्।
समितिलाई बैठकका निर्णय राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई जानकारी गराउने, एन्फामा सरकारी हस्तक्षेप नरहेको विषय स्पष्ट पार्ने तथा फिफा र एसियाली फुटबल महासंघ (एएफसी) सँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकमा २० सदस्यीय कार्यसमितिमध्ये ११ जना सहभागी थिए। अध्यक्ष नेम्वाङ र महासचिव राई भने बैठकमा उपस्थित भएनन्। महासचिवको अनुपस्थितिमा उनको जिम्मेवारी सहसचिव बद्री भट्टराईलाई दिइएको छ।
यसअघि एन्फा मुख्यालयमा लगाइएको ताला दुई दिनअघि खुलेपछि बहुमत सदस्यहरूले छलफल गरेका थिए। त्यही छलफलको निर्णयअनुसार शुक्रबार औपचारिक कार्यसमिति बैठक बसेको हो।












प्रतिक्रिया