काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डका बेला जोखिम मोलेर सहकर्मी र सर्वसाधारणको उद्धारमा खटिएका नेपाली मूलका प्रहरी अधिकारी विकास भारतीले सन् २०२६ को राष्ट्रिय बहादुरी पुरस्कार प्राप्त गरेका छन्।
बुधबार अक्टोबर २८ मा क्यानबेरामा आयोजित समारोहमा प्रहरी महासंघ अस्ट्रेलियाले सिनियर कन्स्टेबल भारतीलाई संयुक्त राष्ट्रिय बहादुरी पुरस्कार प्रदान गरेको हो। उनीसँगै क्विन्सल्यान्ड प्रहरी सेवालाई पनि उक्त सम्मान दिइएको छ।
न्यु साउथ वेल्स प्रहरीअन्तर्गत बुरवुड प्रहरी क्षेत्रीय कमान्डमा कार्यरत भारती सन् २०२५ अक्टोबर ५ मा सिड्नीको क्रोइडन पार्कमा भएको गोलीकाण्डका बेला घटनास्थल पुग्ने प्रारम्भिक प्रहरी अधिकारीमध्ये एक थिए। गोली चलिरहेको अवस्थामा उनले आफ्ना कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए भने घाइते सर्वसाधारणको उद्धारमा समेत सहयोग गरेका थिए।
घटना के थियो ?
अस्ट्रेलियाली सञ्चारमाध्यम एबीसी न्युजका अनुसार सन् २०२५ अक्टोबर ५ को साँझ सिड्नीको क्रोइडन पार्कस्थित जर्जेस रिभर रोडमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए।
साँझ करिब ७ः४५ बजे भएको घटनामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका थिए। गोली प्रहारबाट सडकमा रहेका सवारीसाधन र बस बिसौनीमा समेत क्षति पुगेको थियो। घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले जोखिमपूर्ण क्षेत्र नियन्त्रणमा लिँदै घाइतेको उद्धार र सर्वसाधारणको सुरक्षामा ध्यान दिएको थियो। करिब दुई घण्टाको कारबाहीपछि प्रहरीले ६० वर्षीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।
पुरस्कार ग्रहण गर्दै भारतीले सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आउँदा यस्तो सम्मान पाउने कल्पनासमेत नगरेको बताए। उनले घटनाका बेला सँगै खटिएका सहकर्मीहरूको साथ, तालिम र विश्वासकै कारण आफूले जोखिमपूर्ण अवस्थामा जिम्मेवारी पूरा गर्न सकेको उल्लेख गर्दै पुरस्कार उनीहरूसँग पनि बाँड्न चाहेको बताए।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संघीय संसद्मा भारतीको साहस र कर्तव्यनिष्ठाको प्रशंसा गरेका छन्। न्यु साउथ वेल्स प्रहरी आयुक्त मल ल्यान्यनले पनि क्रोइडन पार्कको घटनामा भारतीले आफ्नो सुरक्षाभन्दा अरूको जीवनलाई प्राथमिकता दिएको भन्दै उनको प्रशंसा गरेका छन्।
नेपालबाट अस्ट्रेलिया पुगेका भारतीले आफूलाई अवसर दिएको र समुदायको सेवामा योगदान गर्न पाएको देशको प्रहरी सेवामा आबद्ध हुनुलाई सौभाग्यका रूपमा लिएको बताएका छन्।












प्रतिक्रिया