१३ कार्तिक २०८३, शुक्रबार

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृत मृत फेला, हत्या भएको परिवारको दाबी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देश छोडेर जाँदै गरेको भिडियो खिच्ने पूर्ववायुसेना अधिकृत केएम तौसिफ सौरीको मृत्यु भएको छ ।

बिहीबार ढाकास्थित तुराग नदीमा उनको शव फेला परेको हो ।

२८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए ।

हसिनाको भिडियो सार्वजनिक गरेकै कारण आफूलाई दुःख दिइएको र त्यसपछि हत्या गरिएको आरोप उनका परिवारले लगाएका छन् ।

अधिकारीहरूका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुनेछ ।

हालसम्म यो मृत्यु डुबेर आत्महत्या वा हत्या कुन कारणले भएको हो भन्ने स्पष्ट छैन् ।

बंगलादेशी पत्रिका ‘द डेली स्टार’का अनुसार ती अधिकारीको शव राजाबारी घाट नजिक फेला परेको थियो । उनले सेतो पाइन्ट र कालो सर्ट लगाएका थिए । सुरुमा प्रहरीले शवको पहिचान गर्न सकेको थिएन ।

उनको खल्तीमा भेटिएको आइफोनको मद्दतले शवको पहिचान सम्भव भयो । शवको छेउमा एउटा हाते घडी पनि फेला परेको थियो । त्यसपछि शवलाई पोस्टमार्टम (शव परीक्षण)का लागि ढाकास्थित सहिद सुहरावर्दी मेडिकल कलेज अस्पताल पठाइयो ।

सौरीको मृत्युपछि उनकी भदैनी मोशफेले फेसबुकमार्फत उनको हत्या गरिएको आरोप लगाइन् ।

बंगाली भाषामा लेखिएको उक्त पोस्टमा उनले भनिन्, “मेरो भाइको हत्या गरिएको छ । उसको अपराध के थियो ? के हसिना भाग्दै गरेको भिडियो साझा गर्नु नै उसको अपराध थियो ?” उनका अनुसार उक्त भिडियो सौरीले नभई उनका सहकर्मीले खिचेका थिए ।

उनले वायुसेनाबाट अवकाश पाए पछि पनि सौरीलाई मानसिक रूपमा सताउने क्रम नरोकिएको आरोप लगाइन् । उनले जासुसहरूले आफूलाई निरन्तर पछ्याइरहेको दाबी गरिरहेका थिए । उता उनका भाइ (काकाका छोरा)का अनुसार सौरीको स्वास्थ्य राम्रो थियो र मृत्यु हुनुअघि उनलाई घरबाट बाहिर बोलाइएको थियो ।

वायुसेनाबाट सौरीलाई किन हटाइयो भन्ने प्रश्न समेत उठिरहेको छ ।

बंगलादेशी वेबसाइट ‘जागो न्युज’का अनुसार अन्तर-सेवा जनसम्पर्क निर्देशनालयले सन् २०२५ अगस्ट ४ मा उनको सेवाबाट बहिर्गमनबारे एक विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिमा सौरीलाई नियमअनुसार अवकाश दिइएको र उनीमाथि कुनै आरोप नलगाइएको उल्लेख छ ।

यद्यपि, केही समाचार र सामाजिक सञ्जालका चर्चा-परिचर्चाहरूले उनको बहिर्गमनलाई हसिना देश छोडेर जाँदाको भिडियोसँग जोडिएको विवादसँग जोडेका छन् । उनका एक नातेदारले त सौरीलाई वायुसेनाबाट बाहिरिनु अघि र पछि दुवै समयमा दुर्व्यवहार गरिएको आरोप समेत लगाएका छन् ।

‘जागो न्युज’का अनुसार उत्तरा प्रहरी चौकीका एक अधिकारी शाहिनुर जमानले बिहीबार जानकारी दिएअनुसार त्यस बेलासम्म सौरीको मृत्युका सम्बन्धमा प्रहरी चौकीमा कुनै उजुरी दर्ता भएको थिएन ।

हाल पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिँदै छ । अनुसन्धानबाट सौरीको मृत्यु कसरी भयो भन्ने खुल्नेछ । हालको अवस्थामा उनको हत्या भएको पुष्टि भइसकेको छैन, न त उनको मृत्यु र हसिना देखिएको भिडियोबीच कुनै सम्बन्ध नै स्थापित भएको छ ।