११ कार्तिक २०८३, बुधबार

लुम्बिनी केबलकारमा भारतीय पर्यटक आवागमनमा वृद्धि, क्यासिनोसहितको होटेल निर्माण अन्तिम चरणमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको संख्या २४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीको मंगलबार सम्पन्न २३ औं वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिएका हुन् ।

अध्यक्ष ढकालका अनुसार केबलकार यात्रा गर्ने कूल पर्यटक संख्यामध्ये भारतीय पर्यटकको हिस्सा २९ प्रतिशत रहेको छ ।

भारतको उत्तर प्रदेशसहित दिल्ली, झारखण्ड, बिहार, केरला तथा आन्ध्र प्रदेशसम्मका पर्यटकले केबलकारमार्फत पाल्पाको वसन्तपुर डाँडास्थित कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमण गर्ने क्रम बढेको उनले बताए ।

भारतीय पर्यटक आकर्षित गर्न सीमावर्ती क्षेत्रका यातायात चालकलाई विशेष व्यवस्था र भारतीय भ्लगरहरूमार्फत प्रवर्द्धनलाई तीव्र बनाइएको कम्पनीले जनाएको छ ।

यसैगरी, केबलकारको टप स्टेसन (वसन्तपुर)मा पाँचतारेस्तरको क्यासिनोसहितको होटेल निर्माण प्रक्रियालाई अगाडि बढाइएको छ ।

होटेलको नक्सापास अन्तिम चरणमा पुगेको र आवश्यक खानेपानी आपूर्तिको व्यवस्थापन आंशिक रूपमा सम्पन्न भइसकेको अध्यक्ष ढकालले बताए ।

आगामी आर्थिक वर्षमा रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइड लगायतका मनोरञ्जनात्मक पूर्वाधार थप गर्ने योजना कम्पनीको छ ।

बजार प्रवर्द्धनका लागि बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी संघसंस्था, ४५ भन्दा बढी शिक्षण संस्था, भाटभटेनी सुपरमार्केट, क्युएफएक्स सिनेमा, लुम्बिनी विकास कोष तथा शंकरनगर वन विहारसँग सहकार्य तथा टिकट छुट सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

विश्व भूराजनीति र बजार मूल्यवृद्धिका बाबजुद खर्च नियन्त्रण र मितव्ययिता कायम गर्दै आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत कम्पनीले योगदान पुर्‍याइरहेको कम्पनीले जनाएको छ ।