११ कार्तिक २०८३, बुधबार

कर्णालीमा तीन दिन वर्षाको सम्भावना, हिमाली जिल्लामा सतर्कता अपनाउन आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । अर्नब चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशसहित देशका विभिन्न क्षेत्रमा तीन दिनसम्म वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसम जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म वर्षा तथा मौसममा प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावना छ । विशेषगरी हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख र रुकुमपश्चिमका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

सम्भावित वर्षाका कारण पहिरो, बाढी, लेदो तथा गेग्रान बहावजस्ता विपद्का घटना हुन सक्ने कार्यालयले जनाएको छ । हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरोको जोखिम समेत हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र सम्भव भएसम्म यात्रा नगर्न आग्रह गरिएको छ ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई पनि मौसमको पूर्वानुमान तथा अद्यावधिक सूचना लिएर मात्र कटाइ र भित्र्याउने काम गर्न अनुरोध गरिएको छ । काटिसकेको धानलाई वर्षाबाट जोगाउन सुरक्षित स्थानमा राख्न समेत सुझाव दिइएको छ ।

मौसमसम्बन्धी थप जानकारी तथा अद्यावधिक पूर्वानुमानका लागि जल तथा मौसम विज्ञान विभाग र मौसम जलवायु विज्ञान कार्यालय सुर्खेतबाट सूचना लिन सकिनेछ ।