काठमाडौं । काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै महानगरले पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्ँतरण गर्ने उदेश्यका साथ काठमाडौं फिल्म फेस्टिभल आयोजना गरिएको जनाएको हो ।
फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगका दिग्गज हस्ती अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर लगाएतको उपस्थीति हुने महागरले जनाएको छ ।
महानगरपालिकाले पुराना चलचित्रहरूको संरक्षण गर्ने उद्देश्यले सन् १९७० र ८० को दशकका नेपाली कथानक चलचित्रहरू ’कुमारी’ र ’के घर के डेरा’को विशेष प्रदर्शन गर्ने बताइएको छ ।
स्थानीय कलाकार तथा पेशाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्नु समेत काठमाडौं फिल्म फेस्टिभलको मूख्य लक्ष्य रहेको महानगरले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फेस्टिभल काठमाडौंको कला, संस्कृति र सम्पदालाई फिल्ममार्फत विश्वसामु चिनाउने अवसर भएको बताइन्।
फेस्टिभलमा आजमीसँगै सांघाई फिल्म एकेडेमीको फिल्म आट्र्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा, भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हासहितका अन्तर्राष्ट्रिय फिल्मकर्मी पनि सहभागी हुनेछन्।
फेस्टिभलमा नेपालसहित विभिन्न देशका फिल्म प्रदर्शन, अन्तरसंवाद, मास्टर क्लास, प्यानल डिस्कसन, सर्ट फिल्म प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिनेछ।















प्रतिक्रिया