१० कार्तिक २०८३, मंगलबार

कार्तिक १२ देखि १४ गतेसम्म पदयात्राको अनुमति बन्द

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना देखिएपछि अध्यागमन विभागले तीन दिनका लागि पदयात्रा अनुमति रोक्ने निर्णय गरेको छ।

विभागका अनुसार १२ देखि १४ कात्तिकसम्म हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम बढ्न सक्ने पूर्वानुमान रहेकाले जोखिमयुक्त क्षेत्रमा पदयात्राका लागि नयाँ अनुमति जारी गरिने छैन।

यस अवधिमा विदेशी पर्यटक तथा अन्य पदयात्रीलाई जोखिम भएका क्षेत्रमा ट्रेकिङ नगर्न विभागले आग्रह गरेको छ। सम्बन्धित क्षेत्रका पर्यटन व्यवसायी तथा सरोकारवालालाई पनि पदयात्रीलाई त्यस्ता स्थानमा नपठाउन अनुरोध गरिएको छ।

विभागले जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति दिने प्रक्रिया यसअघि नै रोकिसकेको जनाएको छ। साथै, सो क्षेत्रमा पुगिसकेका पदयात्रीलाई मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ।

मौसम पूर्वानुमानका आधारमा हिमाली क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना तथा जनधनको जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ।