रूपन्देही । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गरिएको विषयमा विरोध गर्दै आएको ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँ पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार खाँसहित दुई जनालाई गएराति पक्राउ गरिएको हो। पक्राउ पर्नेमा अभियानका सहसंयोजक वाजिउद्दिन मुसलमान पनि रहेका छन्।
प्रहरीले उनीहरूलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। पक्राउपछि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले बताएका छन्।
अभियानका सहसंयोजक रामविकास चौधरीका अनुसार प्रहरीले खाँ र मुसलमानलाई घरमै सुतिरहेको अवस्थामा मध्यराति पक्राउ गरेको हो।
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति भएपछि त्यसको विरोधमा महाअभियानले निरन्तर आन्दोलन गर्दै आएको छ। नियुक्ति प्रक्रिया र निर्णयप्रति असन्तुष्टि जनाउँदै अभियानले विभिन्न चरणमा विरोधका कार्यक्रम सञ्चालन गर्दै आएको हो।
यसैबीच, अभियानले आफ्ना संयोजक खाँलाई पक्राउ गरिएको घटनाको विरोध गरेको छ। महाअभियानले पक्राउ परेका दुवै जनालाई तत्काल रिहा गर्न माग गर्दै राज्य पक्षबाट भएको धरपकडप्रति आपत्ति जनाएको छ।















प्रतिक्रिया