काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
सोमबार अपरान्ह ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सोही स्थानकी सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका–२ की नीता बगाले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, सोही स्थानकी गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको छ भने गोमता र बालकृष्णको अवस्था मध्यम रहेको बताइएको छ । उनीहरूमध्ये दुई जनाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल र एक जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।















प्रतिक्रिया