९ कार्तिक २०८३, सोमबार

देशका ८ प्रमुख सहरमा फ्लडलाइटसहितको क्रिकेट रंगशाला बनाउने सरकारको योजना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो ।

लाम्सालले आठ सहरमा निर्माण गरिने रंगशालामा कम्तिमा ८ हजार दर्शक क्षमताका साथै फ्लडलाइटको व्यवस्था गरिने बताएका छन् । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उनले उल्लेख गरेका छन् ।

रंगशाला निर्माणको योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास मन्त्री लाम्सालले व्यक्त गरेका छन् । उनले क्रिकेट संघ (क्यान)लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन् ।

चार्डपर्वका बीच नेपाली क्रिकेटको पर्वका रूपमा एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिँदै मन्त्री लाम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजना समेत सार्वजनिक गरेका हुन् ।