८ कार्तिक २०८३, आइतबार

दिल्लीमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, मागे सरकारको धारणा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै थापाले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसबारे सरकारको धारणा मागेका हुन् ।

भारतीय सञ्चारमाध्यम एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडेर राष्ट्रवादलाई हेर्ने युग सकिएको बताएका थिए ।

‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो । नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन । विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ ।’ थापाले फेसबुकमा लेखेका छन्, ‘​सानो समूहको केही अपवादमुलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु उहाँको पूर्वाग्रही चस्माको उपज हो । नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित छ । हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौँ तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो ।’

थापाले के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ? भन्दै प्रश्न समेत गरेका छन् । उनले वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उनले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन ? भनेका छन् ।

थापाले जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने र सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।